हेटौँडा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेशको पहिलो प्रदेश अधिवेशन मंगलबार मकवानपुरको हेटौँडामा सुरु हुँदैछ। अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम छ।
प्रदेश सभापति अच्युतम लामिछाने पुनः नेतृत्वमा दोहोरिने तयारीमा रहेका छन्। उनले नेतृत्व चयन सर्वसम्मत हुने सम्भावना कम रहेको र निर्वाचनमार्फत प्रतिस्पर्धा हुने संकेत दिएका छन्।
“प्रदेशको नेतृत्व चयन सर्वसम्मत हुने सम्भावना कम छ। प्रतिस्पर्धा नै हुने देखिएको छ,” लामिछानेले भने, “प्रतिस्पर्धामा को–को आउनुहुन्छ प्रक्रियामा गएपछि थाहा होला। अहिलेसम्म चुनाव नै हुने देखिन्छ।”
उनले आफू पनि पुनः प्रदेश नेतृत्वका लागि आकांक्षी रहेको बताएका छन्। पहिलो प्रदेश अधिवेशन भएकाले पार्टीभित्र विशेष उत्साह रहेको भन्दै लामिछानेले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार अधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने अनुमान गरिएको छ।
प्रदेश नेतृत्वका लागि हालका प्रदेश प्रवक्ता उत्सव अर्यालले पनि आकांक्षा व्यक्त गरेका छन्। पार्टीभित्र उनलाई महामन्त्री पदमा सर्वसम्मत गराउने प्रयास भइरहेको नेताहरूले बताएका छन्।
यस्तै, हाल स्वास्थ्य विभाग प्रमुख रहेका डा. रमेश ढकाल पनि प्रदेश नेतृत्वका दाबेदारका रूपमा चर्चामा छन्। पूर्व एमाले पृष्ठभूमिका ढकाललाई उपसभापतिमा समेट्ने तयारीबारे पनि पार्टीभित्र छलफल भइरहेको स्रोतको दाबी छ।
महामन्त्री पदमा दिनेश भट्टले समेत आकांक्षा राखेका छन्।
नेतृत्व चयनमा सहमतिको सम्भावना कमजोर बन्दै जाँदा रास्वपाको बागमती प्रदेश अधिवेशनमा विभिन्न पदका लागि प्रतिस्पर्धा हुने देखिएको छ। यद्यपि हालसम्मको समीकरण हेर्दा प्रदेश सभापतिमा लामिछानलाई पुनः नेतृत्वमा दोहोर्याउने तयारीमा पार्टी नेतृत्व रहेको बुझिएको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्