रास्वपा प्रदेश अधिवेशन आज

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २६, मंगलवार ०९:१९


काठमाडौँ, जेठ २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै देशका ५६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको जनाएको छ।

अधिवेशन आज प्रदेश अधिवेशन हुँदै छ । बागमतीमा सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।


रास्वपाको केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीका अनुसार १२ जिल्लामा नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ। एक जिल्लामा अधिवेशन स्थगित गरिएको छ भने पाँच जिल्लामा अधिवेशन सुरु हुन बाँकी रहेको छ। पार्टीले जेठ २३ गतेदेखि देशव्यापी रूपमा जिल्ला अधिवेशन सुरु गरेको थियो।


जिल्ला अधिवेशन सम्पन्न भएसँगै पार्टीको कार्यतालिकाअनुसार मङ्गलबारदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुने भएको छ। रास्वपाका प्रवक्ता मनीष झाले हालसम्म सम्पन्न भएका अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको र केही जिल्लामा निर्वाचन अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। विशेषगरी मधेश प्रदेशका केही जिल्लामा मतदान प्रक्रिया जारी रहेको उहाँले बताउनुभयो।


कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेका छन्। लुम्बिनी प्रदेश भने सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने पहिलो प्रदेश बनेको छ। केही जिल्लामा पुनः निर्वाचनको तयारी भइरहेको छ भने मनाङ र मुस्ताङलगायत केही जिल्लामा अधिवेशन हुन बाँकी छ।


पार्टीले वडा र पालिका तहका अधिवेशन सम्पन्न गरिसकेपछि जिल्ला तहमा संगठन विस्तार र सुदृढीकरण अभियानलाई अघि बढाएको जनाएको छ। तल्लो तहबाट नेतृत्व चयन गर्ने लोकतान्त्रिक अभ्यासलाई पार्टीले संगठन निर्माणको महत्वपूर्ण आधारका रूपमा लिएको छ।


रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनलाई संस्थागत विकास तथा वैकल्पिक राजनीतिक शक्तिको रूपमा थप मजबुत बन्ने अवसरका रूपमा लिएको जनाएको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ६ र ७ गते चितवनमा आयोजना गर्ने तयारी भइरहेको छ।


तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *