काठमाडौं। नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने तयारीस्वरूप पार्टीका सबै निर्वाचित जनप्रतिनिधि र विभिन्न तहका पदाधिकारीलाई अनिवार्य रूपमा क्रियाशील सदस्यता अद्यावधिक गर्न निर्देशन दिएको छ।
पार्टीको केन्द्रीय कार्यालयले जारी गरेको परिपत्रअनुसार कांग्रेसका तर्फबाट निर्वाचित संघीय संसद सदस्य, प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सबै जनप्रतिनिधिले २०८१ जेठ २७ गतेभित्र आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गरिसक्नुपर्नेछ।
यस्तै, केन्द्रीय समितिदेखि वडा समितिसम्मका पदाधिकारी तथा सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीलाई पनि सोही समयसीमाभित्र सदस्यता अद्यावधिक गर्न र आफ्ना क्षेत्रका सदस्यहरूलाई सहजीकरण गर्न निर्देशन दिइएको छ। साधारण क्रियाशील सदस्यहरूका लागि भने जेठ २८ गतेसम्मको समयसीमा तोकिएको छ।
कांग्रेसले आगामी महाधिवेशनमा सहभागी हुन प्रत्येक क्रियाशील सदस्यका लागि विशिष्ट पहिचान नम्बर (एनसिआइडी) अनिवार्य गरेको छ। पार्टीका अनुसार महाधिवेशनमा प्रतिनिधित्व र सहभागिताको मुख्य आधार नै एनसिआइडी हुने भएकाले सबै सदस्यलाई समयमै प्रक्रिया पूरा गर्न आग्रह गरिएको हो।
परिपत्रमा कसैले अनाधिकृत रूपमा अरूको सदस्यता अद्यावधिक गरिदिएको पाइएमा छानबिन गरी त्यस्तो एनसिआइडी रद्द गरिने उल्लेख छ। साथै पार्टीको अनुशासन उल्लंघन गर्ने तथा बागी उम्मेदवार बनेका व्यक्तिहरूको सदस्यता केन्द्रीय अभिलेखबाट हटाइने चेतावनी पनि दिइएको छ।
इन्टरनेट तथा प्रविधिको पहुँच कम भएका हिमाली र उच्च पहाडी जिल्लाका लागि भने विशेष व्यवस्था गरिएको छ। ती जिल्लाबाट तहगत सिफारिससहित विवरण पठाएपछि केन्द्रबाटै सदस्यता अद्यावधिक गरिदिने व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ।
पार्टीले नयाँ सदस्यता लिन चाहने योग्य नेपाली नागरिकका लागि पनि ढोका खुला राखेको छ।
इच्छुक नागरिकले कांग्रेसको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। वडा तहको सिफारिसपछि प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले त्यस्ता आवेदन स्वीकृत गर्ने व्यवस्था गरिएको छ।
कांग्रेसका अनुसार हाल ७ लाख ८२ हजार २ सय ९ क्रियाशील सदस्यमध्ये ४ लाख १७ हजार ७ सय ५३ जनाले एनसिआइडी प्राप्त गरिसकेका छन् भने ९८ हजारभन्दा बढी सदस्यको विवरण अद्यावधिक हुने प्रक्रियामा रहेको छ। प्राविधिक समस्या आएमा सहजीकरणका लागि पार्टीले हेल्पलाइन नम्बर ९७०१२५५५५५ मा सम्पर्क गर्न अनुरोध गरेको छ।


नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्