बजेट कटौतीले सडक अलपत्र, शिवपुरी–७ का जनताले थाले श्रमदानबाट निर्माण अभियान

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २६, मंगलवार ११:४८



शिवपुरी । राजधानीसँग अत्यन्त नजिकरहेकाे नुवाकोटको शिवपुरी गाउँपालिका–७ अन्तर्गत ढलानघर–ठूलोपाटा–पाण्डेथोक–शिवालय–घलेभन्ज्याङ–कुलकुले–ठकुरीटोल हुँदै समुद्रटार जोड्ने सडक निर्माण लामो समयदेखि अलपत्र परेपछि स्थानीयवासीले श्रमदानमार्फत बाटो मर्मत अभियान सुरु गरेका छन्।


स्थानीयका अनुसार उक्त सडकका लागि विगतमा करिब ४२ करोड रुपैयाँ लागत अनुमान अनुसार बजेट विनियोजन गरिएको भए पनि काम भने अन्तै थालियाे ।तत्कालीन नेकपाका नेेता हितबहादुर तामाङकाे अगुवाइमा उक्त बजेट भद्रुटार लगेपछि ढकालघरबाट समुन्द्रटार जाने बाटाे अलपत्र परेकाे थियाे ।

त्यसपछि तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतको कार्यकालमा करिब ९ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो। त्यसमध्ये करिब ३ करोड रुपैयाँ बराबरको काम भए पनि बाँकी ६ करोड रुपैयाँ बजेट कटौती भएपछि सडक निर्माण कार्य रोकिएको स्थानीयको भनाइ छ।


सडक निर्माणको सुनिश्चितता नदेखिएपछि नेपाली कांग्रेस शिवपुरी–७ का वडा सभापति मुकुन्द प्रसाद पाण्डेको सक्रियतामा स्थानीयस्तरमै श्रमदान अभियान सुरु गरिएको हाे । शनिबारदेखि सुरु भएको अभियानमा सुनखानी क्षेत्रका करिब ६५८ घरधुरीले प्रयोग गर्ने मुख्य सडकको मर्मत तथा सुधार कार्य भइरहेको छ।


स्थानीयवासीले राजनीतिक पूर्वाग्रहका कारण जनजीवनसँग प्रत्यक्ष जोडिएको सडक समस्या वर्षौंदेखि समाधान हुन नसकेको गुनासो गरेका छन्। उनीहरूले “हाम्रो गाउँ, हामी आफैं बनाऔं” भन्ने नारासहित प्रत्येक घरबाट कम्तीमा एक दिन श्रमदान गर्न आग्रह गरेका छन्।


शिवपुरी–७ स्थायी घर भई काठमाडौं तथा अन्य स्थानमा बसोबास गर्दै आएका उपभोक्ता कम्तीमा एक दिन श्रमदानमा सहभागी भई गाउँको विकासमा योगदान दिन आह्वान गरिएको छ।


राजधानीसँग सबैभन्दा नजिकका पालिकामध्ये एक मानिने शिवपुरी गाउँपालिकाको सडक अवस्था अझै कमजोर रहेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। विकास निर्माणका लागि पर्याप्त बजेट नआउँदा र स्थानीय तहको अनुदानसमेत कटौती हुँदा अधिकांश बजेट कर्मचारी तलब तथा प्रशासनिक खर्चमै सीमित हुने गरेको नागरिकहरूको गुनासो छ।


स्थानीयका अनुसार सरकारी निकायबाट पर्याप्त पहल नहुँदा विकासका योजना कागजमै सीमित भएका छन्। यस्तो अवस्थामा जनताकै श्रम र सहभागिताबाट सडक मर्मतको काम अघि बढाइएको उनीहरूको भनाइ छ। श्रमदान अभियानलाई सफल बनाउन सबै सरोकारवाला पक्षलाई सहयोग र सहभागिताका लागि आह्वान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *