रास्वपाकाे मधेस प्रदेश अधिवेशनका सबै गतिविधि अर्को सूचना नभएसम्म स्थगित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २६, मंगलवार १३:२४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ।


पार्टीको केन्द्रीय निर्वाचन आयोग ले मंगलबार जारी गरेको जरुरी सूचनामार्फत अधिवेशनका सबै प्रक्रिया तत्कालका लागि रोकिएको जानकारी दिएको हो।


आयोगका अनुसार अधिवेशनलाई निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत ढंगले सम्पन्न गर्ने वातावरण सुनिश्चित गर्न आवश्यक देखिएकाले हाललाई प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी दर्ता, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण गतिविधि स्थगित गरिएको छ।
सूचनामा पार्टीको विधान २०७९ (तेस्रो संशोधनसहित) को दफा ४१ र ४९ बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै उक्त निर्णय गरिएको उल्लेख गरिएको छ।


आयोगले अधिवेशन पुनः सञ्चालन हुने मिति, समय तथा संशोधित कार्यतालिकाबारे पछि आधिकारिक जानकारी गराइने जनाएको छ। साथै अर्को निर्देशन नआएसम्म अधिवेशनसँग सम्बन्धित कुनै पनि नयाँ गतिविधि सञ्चालन नगर्न पार्टीका सदस्य, प्रतिनिधि, उम्मेदवार तथा प्रदेश र जिल्ला तहका नेता–कार्यकर्तालाई आग्रह गरिएको छ।


उक्त सूचनाको बोधार्थ पार्टी सभापति, महामन्त्री, संगठन विभाग, अनुशासन आयोग तथा मधेस प्रदेश समिति लाई समेत दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *