विदुर, नुवाकोट — नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक अभियानका क्रममा नुवाकोटमा व्यापक असन्तुष्टि देखिएको छ। विशेषगरी प्रतिनिधिसभा क्षेत्र नं. १ मा सदस्यता वितरण र अध्यावधिक प्रक्रियालाई लिएर विवाद चर्किएको छ।
क्षेत्रीय सभापति धुर्व श्रेष्ठले केन्द्रीय समितिले दिएको निर्देशनअनुसार बैठक बसेर विधिसम्मत ढंगले सदस्यता अध्यावधिकको काम अघि बढाइएको दाबी गरेका छन्। तर संस्थापन पक्षले वडा सभापतिहरूलाई उपलब्ध गराउनुपर्ने कोड नम्बर अन्य व्यक्तिलाई दिएर सदस्यता वितरण गरेको भन्दै उनले असहमति जनाएका छन्।
श्रेष्ठका अनुसार सूर्यगढी, लिखु तथा शिवपुरी गाउँपालिकाका केही वडामा निर्वाचित वडा सभापतिहरूलाई प्रक्रिया बाहिर राखी अन्य व्यक्तिलाई कोड नम्बर प्रदान गरिएको छ, जसले पार्टीभित्र अनावश्यक विवाद सिर्जना गरेको छ। उनले पार्टीका पुराना तथा जीवनभर कांग्रेसको राजनीति गरेका कार्यकर्तालाई बेवास्ता गरिएको भन्दै क्रियाशील सदस्यता अध्यावधिकको नाममा भएको व्यवहार निन्दनीय रहेको टिप्पणी गरे।
“हामीले सधैं विधि, पद्धति र संगठनात्मक मर्यादाभित्र रहेर पार्टी सञ्चालन गर्न खोज्यौं। तर अहिले भइरहेको गतिविधिले कांग्रेस कमजोर बन्दै जाने खतरा बढेको छ,” श्रेष्ठले बताए।
क्षेत्र नं. १ मा करिब ५० प्रतिशत क्रियाशील सदस्यले मात्र सदस्यता अध्यावधिक गरेको जानकारी प्राप्त भएको छ ।इतरपक्षले केन्द्रीय सदस्य सीता मिजारले सुर्यगढीमा पार्टीको आधिकारिक नेतृत्वलाई जानकारी नदिई काेड नम्बर तेस्रो व्यक्तिलाई दिएर प्रक्रिया अघि बढाइएको विषयमा पनि प्रश्न उठाएका छन्।
अध्यक्ष श्रेष्ठले भने,हामी कांग्रेस एक हाेस् भन्ने चाहान्छाै,तरसुर्यगढीमा क्रियाशीलकाे नाममा केन्द्रीय सदस्ययकै उपस्थितिमा जुन प्रकारले दादागिरी गरिएको छ,त्यसले कांग्रेस झन् कमजोर हुने निश्चित छ, यसले हजारौं ईमान्दार कार्यकर्तामाथि चाेट पुगेको छ ।
त्यस्तै, पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत निकट मानिने अर्जुन न्यौपाने, कल्पना नेपाली, उत्तम पाठक, नेपाल महिला संघकी अध्यक्ष सरिता आचार्य लगायतका धेरै नेता तथा कार्यकर्ताले हालसम्म सदस्यता अध्यावधिक नगरेको स्रोतले जनाएको छ।
क्षेत्र नं. २ मा पनि धुर्व अधिकारी, श्रीराम श्रेष्ठ, बद्री मुडबरी लगायतका प्रभावशाली नेतासहित करिब ४५ प्रतिशत क्रियाशील सदस्यले अध्यावधिक नगरेको बताइएको छ।
जिल्लाभर करिब १४ हजार क्रियाशील सदस्य रहेको कांग्रेस नुवाकोटमा दुवै क्षेत्र मिलाएर हालसम्म करिब ८ हजार भन्दा केही बढि सदस्यको अध्यावधिक भएको अनुमान गरिएको छ।
यद्यपि यसको आधिकारिक तथ्यांक भने केन्द्रीय कार्यालयको प्राविधिक शाखाबाट प्राप्त भएपछि मात्रै यकिन हुने बताइएको छ।
क्रियाशील सदस्यता अध्यावधिकलाई लिएर देखिएको विवादले नुवाकोट कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षलाई थप सतहमा ल्याएको विश्लेषण भइरहेको छ।
पार्टी नेतृत्वले समयमै विवाद समाधान गरी सबै पक्षलाई विश्वासमा लिन नसके आगामी संगठनात्मक गतिविधिमा यसको प्रत्यक्ष प्रभाव पर्ने नेताहरूको भनाइ छ।
नुवाकोट पुकार




तपाईको प्रतिक्रिया दिनुहोस्