चिम्टेश्वरगढी संरक्षणमा प्रश्न उठेपछि जेठ ३१ मा सरोकारवालाको संयुक्त छलफल हुने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ३०, शनिबार १४:१०

नुवाकोट, जेठ ३० — बेलकोटगढी नगरपालिका–२ स्थित ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको चिम्टेश्वर गढीको संरक्षण तथा पुनर्निर्माण कार्यलाई लिएर उत्पन्न विवादपछि सरोकारवालाबीच स्थलगत अनुगमन तथा छलफल हुने भएको छ।


पुरातत्त्व विभागको आर्थिक सहयोगमा करिब १० लाख रुपैयाँ बजेटमा गढी संरक्षण तथा पुनर्निर्माणको काम सुरु गरिएको थियो। तर संरक्षणका क्रममा गढीका केही भाग भत्काइएको भन्दै स्थानीयवासीले विरोध जनाएका थिए। स्थानीयले उक्त कार्यले ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको मौलिकता र संरक्षणमा असर पुग्ने चिन्ता व्यक्त गरेका छन्।


यस विषयमा स्थानीय युवा तथा नेकपा नेता नारायण नेपालसहितको टोलीले पुरातत्त्व विभागमा पुगेर ध्यानाकर्षण गराएको थियो। टोलीले चिम्टेश्वर गढी, नुवाकोट दरबार क्षेत्रलगायतका ऐतिहासिक सम्पदामा संरक्षणको नाममा अनधिकृत तथा अपारदर्शी गतिविधि हुने गरेको आरोप लगाउँदै विभागको ध्यानाकर्षण गराएको जनाएको छ।


स्थानीयस्तरबाट गुनासा तथा जिज्ञासा आएपछि पुरातत्त्व विभाग, बेलकोटगढी नगरपालिका, चिम्टेश्वर विकास समिति तथा अन्य सरोकारवालाहरूबीच मिति २०८३ जेठ ३१ गते बिहान ११ बजे चिम्टेश्वर गढी परिसरमै स्थलगत अनुगमन तथा छलफल कार्यक्रम तय गरिएको छ।


वडा अध्यक्ष तथा चिम्टेश्वर विकास समितिका अध्यक्ष रामचन्द्र तिमल्सिनाले जारी गरेको सूचनाअनुसार आयोजनासँग सम्बन्धित प्राविधिक अध्ययन, सर्वेक्षण, नक्सा तथा डिजाइन, लागत अनुमान, संरक्षण विधि निर्धारण र निर्माण कार्यका विषयमा उठेका जिज्ञासा, गुनासा तथा कानुनी प्रश्नहरूको सम्बोधन गर्ने उद्देश्यले छलफल आयोजना गरिएको हो।


स्थानीयवासी तथा सम्पदा संरक्षणकर्मीहरूले चिम्टेश्वर गढीको संरक्षण कार्य ऐतिहासिक महत्व र पुरातात्त्विक मापदण्डअनुसार पारदर्शी ढंगले अगाडि बढाउनुपर्ने माग गर्दै आएका छन्।


तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *