दुबई । अमेरिका र इरानबीच प्रस्तावित शान्ति समझदारीमा आणविक कार्यक्रमको नियन्त्रण, हर्मुज जलडमरूमध्यमा जहाज आवागमनको पुनः सञ्चालन तथा इरानी तेलमाथिका केही प्रतिबन्ध खुकुलो बनाउने विषय समेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
वार्तासँग परिचित एक वरिष्ठ इरानी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएअनुसार प्रारम्भिक सहमति कार्यान्वयनमा आएपछि इरानले हर्मुज जलमार्ग सबै व्यावसायिक जहाजका लागि खुला गर्नेछ भने अमेरिकाले इरानी बन्दरगाहमाथि लागू गरेका केही नाकाबन्दी हटाउने अपेक्षा गरिएको छ।
रिपोर्टहरूका अनुसार प्रारम्भिक समझदारीपछि ६० दिनभित्र विस्तृत शान्ति सम्झौताका लागि थप वार्ता हुनेछ। उक्त अवधिमा अमेरिकाले इरानविरुद्ध नयाँ प्रतिबन्ध नलगाउने विषयमा पनि छलफल भएको बताइएको छ। विस्तृत सम्झौता सम्पन्न भएमा इरानमाथि लगाइएका केही अन्तर्राष्ट्रिय प्रतिबन्धहरू हटाउने सम्भावनासमेत रहेको जनाइएको छ।
सम्झौताका सम्भावित बुँदामध्ये इरानले आणविक हतियार विकास नगर्ने प्रतिबद्धता व्यक्त गर्ने विषयलाई प्रमुख रूपमा हेरिएको छ। साथै, उच्च संवर्द्धित युरेनियमको व्यवस्थापन र आणविक कार्यक्रमको भविष्यबारे थप प्राविधिक वार्ता गर्ने सहमति पनि हुन सक्ने बताइएको छ।
अमेरिकी पक्षसँग निकट स्रोतहरूले हर्मुज जलमार्ग पुनः सञ्चालन र नाकाबन्दी हटाउने विषयमा समझदारी बनेको पुष्टि गरे पनि इरानलाई पारवहन शुल्क असुल्न दिने विषयमा भने मतभेद रहेको संकेत दिएका छन्। यसअघि इरानी अधिकारीहरूले जलमार्ग प्रयोगबापत सेवा शुल्क लिन सकिने बताएका थिए।
युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्तिको विषय पनि इरानी सञ्चारमाध्यमहरूमा उठाइएको छ। तर अमेरिकी अधिकारीहरूले भने प्रस्तावित समझदारीमा त्यस्तो प्रावधान समावेश नभएको बताएका छन्।
यसबीच, इजरायल र हिजबुल्लाहबीचको तनाव पूर्ण रूपमा अन्त्य हुने वा नहुने विषय अझै स्पष्ट भइसकेको छैन। यद्यपि केही इरानी स्रोतहरूले लेबनानसहित विभिन्न मोर्चामा सैन्य गतिविधि रोक्ने विषय पनि वार्ताको हिस्सा बनेको दाबी गरेका छन्।
सम्झौतामा हस्ताक्षर हुने समयबारे पनि फरक–फरक दाबी सार्वजनिक भइरहेका छन्। केही पक्षले निकट भविष्यमै औपचारिक हस्ताक्षर हुने संकेत गरेका छन् भने इरानी अधिकारीहरूले अझै केही राजनीतिक, कानुनी र प्राविधिक विषयमा अन्तिम सहमति हुन बाँकी रहेको बताएका छन्।
यसै क्रममा लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय स्रोतहरूले जनाएका छन्। आक्रमणपछि दर्जनौँ व्यक्ति घाइते भएको बताइएको छ।
इजरायली पक्षले उक्त कारबाही हिजबुल्लाहसँग सम्बन्धित पूर्वाधारलाई लक्षित गरेर गरिएको जनाएको छ। पछिल्ला घटनाक्रमले क्षेत्रीय तनाव पूर्ण रूपमा अन्त्य भइनसकेको संकेत गरे पनि अमेरिका–इरानबीचको सम्भावित समझदारीलाई मध्यपूर्वमा तनाव कम गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
स्रोत : अन्तर्राष्ट्रिय एजेन्सी
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्