नुवाकोट, असार ५ । राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८३ साल वैशाख महिनामा सञ्चालित कक्षा १२ को परीक्षामा महादेव माध्यमिक विद्यालय, महादेवफाँटले उत्साहजनक नतिजा हासिल गरेको छ।
विद्यालयका प्रधानाध्यापक हरिवंश घिमिरेका अनुसार यस वर्ष विद्यालयबाट परीक्षामा सहभागी ४४ जना विद्यार्थीमध्ये ४१ जना विद्यार्थी उत्तीर्ण भएका छन्। उत्कृष्ट नतिजा हासिल गर्न सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई विद्यालय परिवारले हार्दिक बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ।
सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको विश्वास बढाउन नतिजाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै प्रधानाध्यापक घिमिरेले विद्यालयले पछिल्ला वर्षहरूमा शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर प्रयास गरिरहेको बताए।
पछिल्लो समय ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरू भौतिक पूर्वाधारका दृष्टिले निकै सुदृढ बन्दै गएका छन्। विद्यालयहरू पर्याप्त खेलमैदान, विषयगत दक्ष शिक्षक, प्रविधिमैत्री तथा वातावरणमैत्री कक्षाकोठालगायत आवश्यक शैक्षिक सुविधाले सुसज्जित छन्। यद्यपि, गाउँघरमा बसोबास गर्ने जनसंख्या क्रमशः घट्दै जानु तथा बसाइँसराइको प्रवृत्ति बढ्नुका कारण सामुदायिक विद्यालयमा विद्यार्थी संख्या भने निरन्तर घट्दै गएको अवस्था रहेको छ।
यस्ता चुनौतीका बीच पनि महादेव माध्यमिक विद्यालयले हासिल गरेको यो नतिजा सामुदायिक विद्यालयको शैक्षिक क्षमता र सम्भावनाको महत्वपूर्ण उदाहरण बनेको छ। विद्यालयले आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्दै गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा आफूलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नुवाकोट पुकार




तपाईको प्रतिक्रिया दिनुहोस्