फिफाद्वारा एन्फा निलम्बित, नेपाली फुटबल अन्तर्राष्ट्रिय गतिविधिबाट बाहिरिने जोखिम

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ११, बिहीबार ११:२५

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालीन रूपमा निलम्बन गर्ने निर्णय गरेको छ। फिफा काउन्सिलको ब्युरोले बुधबार गरेको निर्णयअनुसार २४ जुन २०२६ देखि लागू हुने गरी एन्फामाथि प्रतिबन्ध लगाइएको हो।


फिफाले एन्फाको आन्तरिक मामिलामा तेस्रो पक्षको हस्तक्षेप भएको निष्कर्ष निकाल्दै आफ्नो विधानको प्रावधानअनुसार निलम्बन गरेको जनाएको छ। निलम्बनसँगै एन्फाले फिफा सदस्य राष्ट्रका रूपमा पाउने अधिकारहरू अर्को निर्णय नभएसम्म गुमाउने भएको छ।


यस निर्णयपछि एन्फाका पदाधिकारी, कर्मचारी तथा सदस्यहरूले फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का विभिन्न विकास कार्यक्रम, तालिम तथा प्रशिक्षणमा सहभागिता जनाउन पाउने छैनन्। साथै, विश्वभरका फुटबल संघ तथा सम्बन्धित निकायहरूलाई एन्फा र एन्फासँग आबद्ध टोलीहरूसँग आधिकारिक खेलकुद गतिविधि नगर्न फिफाले आग्रह गरेको छ।


निलम्बनको प्रभाव नेपाली राष्ट्रिय टोली र क्लब फुटबलमा समेत पर्नेछ। प्रतिबन्ध कायम रहुञ्जेल नेपालका राष्ट्रिय तथा क्लब टोलीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने अवस्था सिर्जना भएको छ।
फिफाले भने आवश्यक सुधार र परिस्थितिमा सकारात्मक परिवर्तन भएमा आगामी परिषद् बैठकअघि नै निलम्बन फुकुवा हुन सक्ने संकेत दिएको छ।
यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि एन्फालाई केही समयका लागि निलम्बन गरेको थियो। एन्फाको निर्वाचन प्रक्रिया तथा त्यससम्बन्धी विवादलाई फिफा र एएफसीले तेस्रो पक्षको हस्तक्षेपका रूपमा हेर्दै आएका थिए। एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल समेत सकिएको अवस्थामा यो निर्णय आएको हो।
फिफाको यो कदम नेपाली फुटबलका लागि ठूलो झट्का मानिएको छ, जसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको सहभागिता र विकास कार्यक्रमहरूमा प्रत्यक्ष असर पार्ने देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *