जापान। नेपाली कांग्रेसको जनसम्पर्क समिति जापानसँग सम्बन्धित संस्थापनइतर पक्षले जापानमा बृहत् वैचारिक भेला आयोजना गर्दै संस्थापन पक्षले संगठनको अधिवेशन एकलौटी रूपमा सञ्चालन गरेको आरोप लगाएको छ। संस्थापनपक्षले केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीकाे प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न गरेकाे जनाएको छ ।
इतरपक्षबाट पूर्व विद्यार्थी नेता तथा इन्जिनियर अरुण खड्काको नेतृत्वमा आयोजित उक्त भेलामा बोल्ने वक्ताहरूले संगठन व्यक्तिकेन्द्रित नभई विधि, विधान, लोकतान्त्रिक मूल्य–मान्यता र सिद्धान्तका आधारमा सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए। उनीहरूले संगठनभित्र आन्तरिक लोकतन्त्र, पारदर्शिता, जवाफदेहिता र विधिको शासनलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा वर्तमान संगठनात्मक अवस्थाको समीक्षा गर्दै जनसम्पर्क समिति जापानलाई सबै पक्षको सहभागितामा लोकतान्त्रिक ढंगले अघि बढाउनुपर्ने विषयमा खुला छलफल भएको थियो। साथै, पशुपति, वाल्मीकि, त्रिचन्द्र, विश्वभाषा क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थानलगायत विभिन्न शैक्षिक संस्थामा विद्यार्थी राजनीति गरेका र हाल जापानमा रहेका कांग्रेससमर्थकहरूबीच वैचारिक एकता तथा समन्वयलाई थप मजबुत बनाउने सहमति पनि भएको जनाइएको छ।
भेलाका सहभागीहरूले “व्यक्तिभन्दा सिद्धान्त ठूलो, पदभन्दा संगठन ठूलो र स्वार्थभन्दा राष्ट्र तथा पार्टीको भविष्य महत्वपूर्ण हुन्छ” भन्ने साझा निष्कर्षसहित संगठनलाई विधिसम्मत र लोकतान्त्रिक ढंगले अघि बढाउन प्रतिबद्ध रहेको बताएका छन्।
इतर पक्षले संस्थापनबाट एकलौटी रूपमा अधिवेशन गराइएको दाबी गर्दै आगामी दिनमा संगठनभित्र लोकतान्त्रिक अभ्यासलाई थप सशक्त बनाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्