काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभागनजिक रहेकाले विशेषगरी कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा दिनभर बदलीसँगै वर्षा हुने मौसमविद्ले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी र वाग्मती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने सम्भावना छ। यस्तै मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
हिमाली जिल्लाहरूमा वर्षासँगै केही स्थानमा हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ। रातिको समयमा पनि कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम बदली रही वर्षा जारी रहने अनुमान छ।
जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार अहिले मनसुन पूर्वी नेपालतर्फ बढी सक्रिय देखिएको छ। धरान, चितवन तथा काठमाडौंका केही क्षेत्रमा वर्षा भइरहेको उल्लेख गर्दै उनले काठमाडौं उपत्यकामा साँझदेखि भोलिसम्म पुनः भारी वर्षा हुन सक्ने संकेत गरेका छन्।
यस्तै कैलालीको चुरे क्षेत्र, लम्की–चुहा, कोहलपुर र दाङ आसपास पनि मध्यम वर्षा भइरहेको जानकारी दिँदै उनले आगामी दुई दिन पूर्वी तथा मध्य नेपालमा मनसुन अझ सक्रिय रहने बताए।
निरन्तर वर्षाका कारण नदी तथा खोलामा जलसतह बढ्न सक्ने, बाढी, डुबान र पहिरोको जोखिम रहने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्