काठमाडौं : बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले स्वास्थ्य अवस्थालाई कारण देखाउँदै पदबाट राजीनामा दिएका छन्।
राष्ट्रपतिको कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा ७६ वर्षीय शाहाबुद्दिनले स्वास्थ्यमा आएको जटिलताका कारण राष्ट्रपतिको जिम्मेवारी निरन्तर निर्वाह गर्न असमर्थ भएको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार हालै गरिएको चिकित्सकीय परीक्षणमा उनलाई ‘अटोनोमिक न्युरोपाथी’ भएको पुष्टि भएको छ। उक्त रोगका कारण बेला–बेलामा क्षणिक रूपमा होस गुम्ने समस्या देखिने भएकाले पदमा रहिरहन उपयुक्त नहुने निष्कर्षसहित उनले राजीनामा दिएको जनाइएको छ।
शाहाबुद्दिन सन् २०२३ अप्रिलमा राष्ट्रपति नियुक्त भएका थिए। उनी पूर्वप्रधानमन्त्री शेख हसिनाका विश्वासपात्र सहयोगीका रूपमा चिनिन्थे। सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि शेख हसिना भारत पुगेपछि सिर्जना भएको राजनीतिक संक्रमणकालमा पनि उनले राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए।
उनको राजीनामासँगै शेख हसिनासँग निकट मानिने शीर्ष राजनीतिक नेतृत्वको उपस्थिति पनि लगभग समाप्त भएको विश्लेषण गरिएको छ। यसअघि अवामी लिग पार्टीमाथि प्रतिबन्ध लागिसकेको छ भने आन्दोलनपछि पार्टीका धेरै नेता तथा कार्यकर्ता पक्राउ परेका वा भूमिगत अवस्थामा रहेका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्