१३ साउन, काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनको शोकमा तीन दिन पार्टी कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
बुधबार बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले १३–१५ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
बैठकले बिहीबार एक दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने पनि निर्णय गरेको छ । वरिष्ठ नेता श्रेष्ठको स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
उनका अनुसार स्वर्गारोहणको १३ औं दिनमा श्रेष्ठको गृहजिल्ला (स्याङ्जा) को कालिगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरी जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय पनि भएको छ । आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ ।
बैठकपछि पार्टी सभापति गगन थापाले पार्टीको झण्डा ओढाएर श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । पार्टी कार्यालयमा कांग्रेसका नेता कार्यकर्ता तथा उहाँका शुभचिन्तकहरुको सहभागिता रहेको थियो । संस्थापनइतरपक्षले भने श्रेष्ठको निवासमा पुगेर अन्तिम श्रद्धाञ्जली प्रकट गरेका थिए ।
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्