नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदर्शनका क्रममा आफू र आफ्नी स्वर्गीय आमाप्रति अभद्र भाषा प्रयोग गर्ने युवाहरूलाई क्षमा गर्ने इच्छा व्यक्त गरेका छन्। उनले युवालाई कानुनी कारबाहीको दायरामा ल्याउनुभन्दा सही मार्गमा डोऱ्याउनु नै समाज र राष्ट्रको जिम्मेवारी भएको बताएका हुन्।
शुक्रबार राति इन्स्टाग्राममार्फत भिडियो सन्देश जारी गर्दै मोदीले जन्तर–मन्तरमा भएको प्रदर्शनमा प्रयोग गरिएको अशोभनीय भाषा सभ्य समाजका लागि स्वीकार्य नभएको बताए। तथापि, युवावस्था सिक्ने र गल्ती सच्याउने समय भएकाले उनीहरूलाई सुधारको अवसर दिनुपर्ने उनको भनाइ थियो।
आफ्नो धारणा स्पष्ट पार्दै मोदीले जिब्रो र दाँतको उदाहरण प्रस्तुत गरे। उनले कहिलेकाहीँ आफ्नै दाँतले जिब्रो काटे पनि दाँत नफालिने उल्लेख गर्दै ती दुवै शरीरका अंग जस्तै प्रदर्शनमा सहभागी युवाहरू पनि आफ्नै समाजका हिस्सा भएकाले उनीहरूलाई सही दिशा दिन आवश्यक रहेको बताए।
प्रधानमन्त्री मोदीले युवाहरूलाई विगतका कमजोरीबाट शिक्षा लिएर देश निर्माणमा सकारात्मक योगदान गर्न आग्रह गरे। उनले नयाँ सोच, नयाँ सिकाइ र जिम्मेवार नागरिकको भूमिकामा अघि बढ्न सबैलाई आह्वान गरे।
यसअघि केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डा र केन्द्रीय राज्यमन्त्री डा. जितेन्द्र सिंहबीच भएको छलफलपछि प्रदर्शनमा सहभागी विद्यार्थीमाथि कडा कानुनी कारबाही नगर्ने समझदारी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्