काठमाडौं, साउन १७ – अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि लागू गरिएको पर्यटकीय तथा व्यापारिक भिसासम्बन्धी ‘भिसा धरौटी’ (Visa Bond) व्यवस्थालाई स्थायी बनाएको छ।
एक वर्षसम्म परीक्षणका रूपमा सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी देखिएपछि अमेरिकी विदेश मन्त्रालयले यसलाई नियमित नीतिका रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो।
नयाँ व्यवस्थाअनुसार अमेरिका भ्रमण वा व्यापारिक प्रयोजनका लागि बी–१ तथा बी–२ भिसा आवेदन दिने नेपाली नागरिकले भिसा जारी हुनुअघि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म धरौटी रकम जम्मा गर्नुपर्नेछ। नेपाली मुद्रामा यो रकम करिब ३० लाख रुपैयाँसम्म पुग्न सक्छ।
यसअघि परीक्षण अवधिमा कन्सुलर अधिकारीले ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी निर्धारण गर्न सक्ने व्यवस्था थियो। अब भने ५ हजार डलरको विकल्प हटाएर १० हजार र २० हजार डलरका दुई तह मात्र कायम गरिएको छ।
धरौटी रकम भिसा अन्तर्वार्ताअघि नै जम्मा गर्नुपर्नेछ। भिसा अस्वीकृत भएमा वा अमेरिका पुगेपछि तोकिएको अवधिभित्र नियमअनुसार स्वदेश फर्किएमा उक्त रकम पूर्ण रूपमा फिर्ता गरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
यो व्यवस्था नेपाल, बंगलादेश र भुटानसहित विश्वका ५० देशका बी–१ र बी–२ भिसा आवेदकमा लागू हुनेछ। अफ्रिकाका धेरै देशका नागरिक पनि यस व्यवस्थाको दायरामा परेका छन्।
अमेरिकाले भिसाको अवधि समाप्त भएपछि पनि गैरकानुनी रूपमा बस्ने ‘ओभरस्टे’ प्रवृत्ति नियन्त्रण गर्न यो नीति लागू गरेको जनाएको छ। अमेरिकी सरकारी तथ्यांकअनुसार भिसा अवधि नाघेर बस्ने व्यक्तिलाई पक्राउ गरी स्वदेश फिर्ता गर्न प्रतिव्यक्ति करिब १८ हजार अमेरिकी डलर खर्च हुने भएकाले यस्तो व्यवस्था स्थायी बनाइएको हो।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्