ब्रोड पीकमा ज्यान गुमाएका नेपाली आरोहीको शव फिर्ताका लागि कूटनीतिक पहल तीव्र

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १७, आईतवार १६:१३


काठमाडौं, साउन १७ — परराष्ट्र मन्त्रालयले पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा गएको विनाशकारी हिमपहिरोमा परी निधन भएका नेपाली तथा विदेशी आरोहीप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।


मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार, साउन १४ गते (३० जुलाई २०२६) क्याम्प–२ बाट क्याम्प–३ जाने क्रममा करिब ६,६०० मिटरको उचाइमा गएको हिमपहिरोमा प्रख्यात नेपाली पर्वतारोही निर्मल पुर्जा “निम्स दाइ” सहित पुरबहादुर गुरुङ “युक्ता”, किली पेम्बा शेर्पा “किलु”, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा तथा उनीहरूसँगै रहेका अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको दुःखद निधन भएको हो।


मन्त्रालयका अनुसार नेपाली टोली बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकाय र नेपाली उद्धार टोलीले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएका थिए। उच्च हिमाली क्षेत्रमा जोखिमपूर्ण अवस्थामा खोज तथा उद्धारमा खटिएका पाकिस्तानी र नेपाली पर्वतारोही टोलीको साहसिक प्रयासको मन्त्रालयले प्रशंसा गरेको छ।


हालसम्म दुर्घटनामा निधन भएका नेपाली आरोहीमध्ये पुरबहादुर गुरुङ “युक्ता” र ग्यालु शेर्पाको शव घटनास्थलबाट तल झारिएको छ भने अन्य शवहरूको उद्धारका लागि प्रयास जारी रहेको मन्त्रालयले जनाएको छ। साथै, दिवंगत आरोहीहरूको शव स्वदेश फिर्ता ल्याउन इस्लामाबादस्थित नेपाली राजदूतावासले आवश्यक समन्वय र सहजीकरण गरिरहेको पनि मन्त्रालयले जानकारी दिएको छ।


परराष्ट्र मन्त्रालयले यस दुःखद घटनाप्रति गहिरो शोक व्यक्त गर्दै दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै यस घटनाले नेपालको पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *