आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २६, मंगलवार ०८:०७

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही भूभागमा भारी वर्षासमेत हुन सक्ने देखिएको छ।


कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।


दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। मधेस, कोसी र वाग्मती प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।


हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।


यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।


रातिको समयमा हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।


हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिम भूभागमा सरदरभन्दा केही उत्तर अर्थात् नेपालनजिक र पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *