३० साउन, काठमाडौं । अमेरिकी सरकारले नेपालसहित विभिन्न मुलुकका नागरिकलाई प्रदान गर्दै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा अन्त्य गर्ने निर्णय गरेको छ।
अमेरिकी आप्रवासन सेवाका अनुसार नेपाली नागरिकका लागि टीपीएसको अवधि यसअघि नै समाप्त भइसकेको थियो। तर, त्यसलाई निरन्तरता दिने वा औपचारिक रूपमा खारेज गर्ने विषयमा निर्णय हुन बाँकी थियो। पछिल्लो निर्णयसँगै अमेरिकाले नेपाली नागरिकका लागि टीपीएस कायम राख्नुपर्ने कानुनी आधार नरहेको निष्कर्ष निकाल्दै सुविधा समाप्त गरेको हो।
टीपीएस प्राप्त गरेका योग्य विदेशी नागरिकलाई निश्चित अवधिसम्म अमेरिकामा कानुनी रूपमा बस्न, काम गर्न तथा देशनिकालाबाट अस्थायी सुरक्षा प्राप्त गर्न पाउने व्यवस्था हुन्छ। अब यो सुविधा समाप्त भएपछि अन्य कुनै वैध आप्रवासन हैसियत नभएका नेपाली नागरिक अमेरिकामा बसिरहन कठिनाइमा पर्न सक्नेछन्।
यस निर्णयले टीपीएसको भरमा अमेरिकामा बसिरहेका नेपालीहरूलाई थप कानुनी तथा आप्रवासनसम्बन्धी जोखिम सिर्जना गरेको छ। उनीहरूले आफ्नो वैध बसाइको अवस्था कायम राख्न अन्य कानुनी विकल्प खोज्नुपर्ने हुन सक्छ।
अमेरिकी सरकारले नेपालसँगै हाइटी, सिरिया, यमन, अफगानिस्तान, क्यामरुन, होन्डुरस, निकारागुवा, भेनेजुएला, दक्षिण सुडान, म्यानमार, सोमालिया र इथियोपियालगायत मुलुकका नागरिकका लागि पनि टीपीएस अन्त्य गर्ने निर्णय सार्वजनिक गरेको छ।
टीपीएस सामान्यतया युद्ध, प्राकृतिक विपत्ति वा अन्य असाधारण परिस्थितिका कारण तत्काल आफ्नो देश फर्कन नसक्ने अवस्थाका नागरिकलाई अमेरिकाले प्रदान गर्ने अस्थायी कानुनी संरक्षण हो।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्