इरानमाथि ट्रम्पको थप कडा प्रतिबन्धको चेतावनी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ४, बिहीबार ०८:४७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कठोर आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।
दुई देशबीच पाँच महिनाभन्दा बढी समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भइरहेका वार्तामा गतिरोध देखिएपछि ट्रम्पले इरानले सम्झौतामा पुग्ने अवसर गुमाएको आरोप लगाएका हुन्।


बुधबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत प्रतिक्रिया दिँदै ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै कठोर आर्थिक कारबाही गर्ने चेतावनी दिएका छन्। उनले इरानले सम्झौताको अवसर उपयोग गर्न असफल भएको भन्दै अब उसले कठोर आर्थिक युद्ध र अन्तर्राष्ट्रिय एक्लोपनको सामना गर्नुपर्ने बताएका छन्।


ट्रम्पले इरानसँग व्यापार वा व्यावसायिक कारोबार गर्ने जुनसुकै देशमाथि समेत प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। इरानलाई वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायमार्फत कुनै पनि प्रकारको सहयोग उपलब्ध गराउने देशले ठूलो आर्थिक परिणाम भोग्नुपर्ने उनको चेतावनी छ।


उनले तेल तस्करी, स्वाप लाइन, नगद हस्तान्तरण, एक्सचेन्ज हाउस, जहाज दर्ता तथा अग्रिम कम्पनीमार्फत हुने कारोबार तत्काल रोक्नुपर्ने बताएका छन्।


ट्रम्पले इरानबाट उत्पन्न खतरा हटाउन तथा त्यसलाई परास्त गर्न अमेरिकाका सबै सहयोगी मुलुक अमेरिकाको साथमा उभिनुपर्ने बताएका छन्।


इरानलाई आर्थिक प्रतिबन्धको धम्की दिएको यो ट्रम्पको पहिलोपटक भने होइन। अमेरिकाले यसअघि नै इरानको तेल तथा वित्तीय क्षेत्रमा विभिन्न प्रतिबन्ध लगाइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *