नुवाकोट । बेलकोटगढी नगरपालिका र कञ्चना देउराली युवा क्लबको साझेदारीमा सातौँ देउराली अर्चले कप तथा प्रथम मेयर कप फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ।
नेपालीहरूको महान् चाड विजयादशमीको अवसर पारेर बेलकोटगढी नगरपालिका–६, देउरालीमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। प्रतियोगितामा विभिन्न टोलीको सहभागिता रहने आयोजक कञ्चना देउराली युवा क्लबले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिताको विस्तृत खेल तालिका, पुरस्कार राशि तथा सहभागितासम्बन्धी अन्य जानकारी केही दिनपछि सार्वजनिक गरिनेछ।
खेलकुदमार्फत स्थानीय स्तरमा एकता, भाइचारा कायम गर्दै नयाँ प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगिता आयोजना गर्न सहयोग पुर्याउने अन्मेश श्रेष्ठ तथा बेलकोटगढी नगरपालिकाका नगरप्रमुख जगतबहादुर गुरुङप्रति आयोजकले आभार व्यक्त गरेको छ।
सातौँ देउराली अर्चले कप तथा प्रथम मेयर कप–२०८३ ले स्थानीयस्तरमा फुटबल खेलको विकाससँगै युवा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्