भोटेकोशी–त्रिशूली विपद्पछि नुवाकोट उठाउने महाअभियानमा हातेमालो गर्न नेकपा नुवाकोटको आह्वान

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २४, बुधबार १८:२१

नुवाकोट । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा हिमाली सुनामीबाट प्रभावित नागरिकलाई तत्काल प्रभावकारी राहत उपलब्ध गराउँदै अस्थायी आवास हुँदै स्थायी आवास निर्माणतर्फ लैजानुपर्नेमा नेपाली कम्युनिस्ट पार्टी निर्वाचन क्षेत्र नं. २ (क) समन्वय समिति नुवाकोटले जोड दिएको छ।

समन्वय समितिका तर्फबाट जारी विज्ञप्तिमा   विपद्को यो समयमा भावनात्मक प्रचारका सामग्री खोज्नेभन्दा जिम्मेवार निकायले योजनाबद्ध ढंगले राहत, उद्धार तथा पुनःस्थापनाको काम अघि बढाउनुपर्ने उल्लेख गरिएको छ । साथै  सरकार र नागरिकको सहकार्यबाट नुवाकोटलाई पुनःउठाउने संकल्प गर्नुपर्ने भन्दै पुनःस्थापनाको महाअभियानमा हातेमालो गर्न सबैमा आह्वान गरेका गरिएकाे छ 

समितिले जारी गरेको अपिलमा भाद्र १० गते लाङटाङ लिरुङ हिमशृङ्खलामा गएको हिमपहिरोपछि लेन्हदे खोला हुँदै आएको बाढीले त्रिशूली नदी सभ्यतामा ठूलो क्षति पुर्‍याएको उल्लेख गरिएको छ। घटनामा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्मा प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गरिएको छ।

समितिका अनुसार विपद्बाट नुवाकोटमा मात्रै करिब ९ हजार ५ सय कित्ता घर, जग्गा तथा जमिन प्रभावित भएका छन्। निजी आवास, सरकारी भवन तथा सडक पूर्वाधारमा करिब ३४ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको दाबी गरिएको छ। त्यस्तै जलविद्युत आयोजना ३, सोलार आयोजना १, मोटरेबल पुल ८, झोलुङ्गे पुल ६, बैंक ३, सहकारी १४, प्राविधिक शिक्षालय १, कलेज १, विद्यालय ११, स्थानीय तहका भवन २ तथा धार्मिक–सांस्कृतिक सम्पदा ६१ वटामा प्रत्यक्ष क्षति पुगेको समितिले जनाएको छ।

समितिले विपद्को सूचना प्राप्त भएलगत्तै सूचना तथा सचेतना फैलाउने, उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सहकार्य गर्दै आएको जनाएको छ। साथै राहत वितरण, सरसफाइ तथा अन्य उद्धार–पुनःस्थापनाका कार्यमा खटिएका राजनीतिक दल, संघ–संस्था, कर्मचारी प्रशासन, सुरक्षा निकाय, स्वयंसेवक तथा नागरिक समाजका सबैलाई धन्यवाद दिएको छ।

विपद्पछि पार्टीका नेता तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वअर्थमन्त्री वर्षमान पुन, प्रतिनिधिसभा सचेतक युवराज दुलाल, प्रतिनिधिसभा सदस्य पर्शुराम तामाङ, पूर्वमन्त्री हितबहादुर तामाङ, संविधानसभा सदस्य विमला सुवेदीलगायतका नेता तथा स्थानीय तहका जनप्रतिनिधि निरन्तर प्रभावित क्षेत्रमा खटिएको समितिले जनाएको छ।

समितिले राहत र उद्धारको चरणसँगै अब दीर्घकालीन पुनःस्थापनाको स्पष्ट योजना आवश्यक रहेको बताएको छ। प्रत्यक्ष प्रभावित नागरिकलाई आपत्कालीन उद्धार केन्द्रबाट अस्थायी आवास हुँदै स्थायी आवासमा पुर्‍याउने गरी राज्यले तीव्र गतिमा योजना र स्रोत परिचालन गर्नुपर्नेमा जोड दिइएको छ।

समितिले अझै केही समय योजनाबद्ध र निरन्तर रूपमा विपद् व्यवस्थापन तथा पुनःस्थापनामा क्रियाशील रहनुपर्ने भन्दै ‘सरकार र नागरिक सहकार्यबाट नुवाकोट उठाउने’ अभियानमा सबै पक्षलाई सहभागी हुन आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *