सहमहामन्त्रीदेखि प्रभावशाली नेताको जिल्ला नुवाकोटमै वडा अधिवेशनमा देखिएन उत्साह

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन ६, मंगलवार १९:१७

नुवाकोट पुकार समाचारदाता
नुवाकोट । नेपाली कांग्रेसको वडा अधिवेशनअन्तर्गत नुवाकोटमा संस्थापन पक्षले आज विभिन्न वडामा अधिवेशन सम्पन्न गरे पनि गत १४औँ महाधिवेशनमा देखिएको उत्साह यसपटक भने खासै देखिएन। जिल्लामा पार्टीका प्रभावशाली नेताहरू रहे पनि अधिकांश स्थानमा क्रियाशील सदस्यको उपस्थिति अपेक्षाकृत न्यून रहेको सहभागीहरूले बताएका छन्।


कांग्रेसका सहमहामन्त्री बहादुरसिंह लामा, प्रभावशाली नेता अर्जुननरसिंह केसी तथा नुवाकोट कांग्रेसका पूर्व सभापति जगदीश्वरनरसिंह केसी लगायतका नेताहरूले आफ्ना पक्षका नेता तथा कार्यकर्तालाई वडा अधिवेशनमा सक्रिय रूपमा सहभागी हुन निर्देशन दिए अधिकांश वडामा क्रियाशील सदस्यको उपस्थिति २५ देखि ३० प्रतिशत हाराहारीमा मात्र रहेको बताइएको छ।


विशेषगरी नुवाकोट क्षेत्र नं. १ मा संस्थापन पक्षलाई अपेक्षित उपस्थिति जुटाउन कठिन भएको सहभागीहरूको भनाइ छ। क्षेत्र नं. १ मा डा. प्रकाशशरण महतसहित क्षेत्रीय सभापति धुर्व श्रेष्ठ,महिला नेतृ कल्पना नेपाली लगायत कांग्रेसका लामो समयदेखि सक्रिय नेताहरू संस्थापनइतर पक्षमा रहेकाले पनि यसको प्रभाव अधिवेशनमा देखिएको बताइएको छ।यद्यपि श्रेष्ठलाई भने लिखु ४ बाट क्षेत्रीय प्रतिनिधि बनाइएको छ ।


सूर्यगढी गाउँपालिकामा अध्यक्ष कांग्रेस नेता सन्तबहादुर घले, प्रदेश सभापति रामजी पौडेल, युवा नेता शंकर प्याकुरेल लगायतका नेता–कार्यकर्ताले अधिवेशन बहिष्कार गरेको जनाइएको छ। त्यस्तै लिखु, पञ्चकन्या र दुप्चेश्वरमा समेत संस्थापन पक्षको वडा अधिवेशनमा अपेक्षित सहभागिता नदेखिएको बताइएको छ। दुप्चेश्वरमा पूर्व अध्यक्ष कांग्रेसका प्रभावशाली युवा योविन्द्रसिंहले समेत अधिवेशन बहिष्कार गरेको जनाइएको छ।


लिखुमा जिल्ला सहसचिव उत्तम पाठक तथा काेषाध्यक्ष प्रल्हाद पन्थ लगायतले अधिवेशन बहिष्कार गरेको बताइएको छ। ककनीमा पूर्व क्षेत्रीय अध्यक्ष अर्जुन न्यौपाने, महिला नेतृ सरिता आचार्य नेता राजन न्यौपाने, प्रदेश सचिव नित्य ढुंगाना तथा जिल्ला समन्वय समिति सदस्य सञ्जना सेढाई लगायतका नेताहरू पनि अधिवेशनमा सहभागी नभएको जनाइएको छ।


यस्तै क्षेत्र नं. २ मा पनि संस्थापन पक्षको वडा अधिवेशनमा प्रभावशाली नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता नदेखिएको बताइएको छ। कांग्रेस नुवाकोटका पूर्व सभापति तथा लोकतान्त्रिक आन्दोलनका नेता धुर्व अधिकारी, जिल्ला सचिव श्रीराम श्रेष्ठ, प्रदेश सचिव धुर्व ढकाल, महिला नेतृ विन्दा अर्याल, बसन्तजंग ठकुरी र बासु सापकोटा लगायतका नेताहरूले अधिवेशन बहिष्कार गरेको जनाइएको छ।


बेलकोटगढीमा प्रदेश सदस्य बद्री मुडबरी, नेपाल महिला संघकी अध्यक्ष सरिता आचार्य, प्रदेश सभापति बैकुण्ठ पाण्डे, युवा नेता जयराम दाहाल, शुकदेव दाहाल, प्रकाश ढुंगाना, प्रदेश सचिव अच्युत रिजाल, सागर न्यौपाने, कांग्रेसका पुराना नेता गोकुल दाहाल र अर्जुन नेपाल लगायतका नेता–कार्यकर्ता अधिवेशनमा सहभागी नभएको बताइएको छ।


स्थानीय तहका अन्य क्षेत्रहरूमा समेत अधिवेशनप्रति विगतको जस्तो उत्साह नदेखिएको कांग्रेसका स्थानीय नेता–कार्यकर्ताले बताएका छन्। तारकेश्वर, किस्पाङ र म्यागङमा पनि वडा अधिवेशनमा अपेक्षित चहलपहल नरहेको त्यहाँबाट प्राप्त समाचारमा उल्लेख छ। धेरै ठाउँमा सहभागि खाेजेर त कतिपय ठाउँमा उपस्थित सबैलाई प्रतिनिधि बनाउने र फाेन गर्दै नाम टिपाउने काम भएकाे बेलकाेटगढी ९ का एक क्रियाशिल सदस्यले नुवाकोट पुकारलाइ बताए ।


उपस्थितिको अवस्था हेर्दा बेलकोटगढी नगरपालिका–८ मा करिब ५ सय क्रियाशील सदस्य रहेकोमा जम्मा ८० जनाले मात्र उपस्थितिमा हस्ताक्षर गरेको एक सहभागीले बताएका छन्। त्यस्तै बेलकोटगढी–५, संविधानसभा सदस्यसमेत रहेका कांग्रेस नेता जगदीश्वरनरसिंह केसीको वडामा करिब ३ सय क्रियाशील सदस्य रहे पनि ४५ जनाको मात्रै उपस्थिति रहेको एक सहभागीले दाबी गरेका छन्।


गत १४औँ महाधिवेशनका क्रममा नुवाकोटका वडा तहदेखि जिल्ला तहसम्म देखिएको प्रतिस्पर्धात्मक माहोल र कार्यकर्ताको उत्साहको तुलनामा यसपटकको अधिवेशनमा देखिएको न्यून सहभागितालाई कांग्रेसभित्रको आन्तरिक विभाजन र संस्थापन तथा संस्थापनइतर पक्षबीचको दूरीसँग जोडेर हेर्न थालिएको छ। यद्यपि, विभिन्न वडामा उपस्थितिको अवस्था फरक–फरक रहेको र सबै वडाको अन्तिम विवरण प्राप्त भइनसकेको स्थानीय नेताहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *