विदुर कांग्रेसको सभापतिमा सुजन गजुरेलको दाबी, युवा नेतृत्वको पक्षमा माहोल बन्दै

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन ८, बिहीबार ०९:१५

नुवाकोट । नेपाली कांग्रेस विदुर नगर कार्यसमितिको सभापतिका लागि युवा नेता सुजन गजुरेलले उम्मेदवारी दिने तयारी गरेका छन्। आगामी असोज ९ गते हुने नगर अधिवेशनलाई लक्षित गर्दै गजुरेलले सभापतिमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

विदुर नगरपालिका–५ पिपलटारका गजुरेल कांग्रेसको संगठन निर्माण तथा व्यवस्थापनमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। विशेषगरी क्रियाशील सदस्यता वितरणदेखि त्यसको व्यवस्थापनसम्म पार्टीको आन्तरिक संगठन सुदृढीकरणमा विदुरमा उनको भूमिका रहँदै आएको कांग्रेसका स्थानीय नेताहरू बताउँछन्।


युवा पुस्तामाझ लोकप्रिय, शालीन र सबै पक्षसँग समन्वय गर्न सक्ने नेताका रूपमा गजुरेललाई हेरिएको छ। उनले यसअघि पाँच वर्ष सचिवको जिम्मेवारी सम्हालेर नगर संगठनमा काम गरिसकेका छन्। यही अनुभवलाई आधार बनाउँदै अब सभापतिको जिम्मेवारी लिएर विदुर कांग्रेसलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उनको तयारी छ।


गजुरेलको पक्षमा रहेका युवा तथा कार्यकर्ताहरूले विदुर नगर कांग्रेसलाई अब बौद्धिक, ऊर्जाशील र समन्वयकारी युवा नेतृत्वको आवश्यकता रहेको बताएका छन्। सबैको भावना बुझ्न सक्ने, संगठनभित्रको असन्तुष्टि व्यवस्थापन गर्न सक्ने र सबै पक्षलाई समेटेर अघि बढ्न सक्ने नेतृत्व आवश्यक रहेको उनीहरूको भनाइ छ। भाेटेकाेशी बाढी पछि विदुरका प्रभावितकाे राहत र पुनःस्थापनका लागिल उनकाे सक्रियता लाेभलाग्दाे देखिन्थ्यो ।


१३ वडा रहेको विदुर नगरपालिकामा करिब ३ हजारको हाराहारीमा क्रियाशील सदस्य तथा करिब ५ सय क्षेत्रीय प्रतिनिधि रहेका छन्। सभापति पदका लागि गजुरेलसँगै अन्य नेताहरूले पनि आकांक्षा देखाएका छन्। बद्री रिमालसहित संस्थापन पक्षभित्रै चार–पाँच जना सभापतिका आकांक्षी रहेको बताइएको छ।


यसपटक संस्थापन पक्ष र संस्थापनइतर पक्षका छुट्टाछुट्टै अधिवेशन हुने तयारी छ। कांग्रेसभित्रको आन्तरिक विवाद र गुटगत प्रतिस्पर्धाका कारण संगठन कमजोर बन्दै गएको अवस्थामा नगर नेतृत्व चयनलाई विशेष चासोका साथ हेरिएको छ।


यस्तो अवस्थामा गजुरेलले आफूलाई सबै पक्षलाई समेट्न सक्ने साझा उम्मेदवारका रूपमा प्रस्तुत गर्दै सभापतिको दाबी अघि बढाएका छन्। विदुर कांग्रेसको आगामी नेतृत्वमा युवा पुस्ताको उपस्थितिसँगै संगठनभित्रको विभाजन र विवाद व्यवस्थापन गर्ने चुनौती पनि उत्तिकै महत्वपूर्ण देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *