न्यूयोर्क, ८ असोज । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघ मुख्यालयमा गुटेरेससँग भेटवार्ता गरेका हुन् ।
भेटमा महासचिव गुटेरेसले भोटेकोशी विपद्बाट भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताएका थिए। उनले नेपाली युवा प्रतिनिधिमण्डलको समेत प्रशंसा गरेका थिए।
गुटेरेसले आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे। उनले भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको र हिमताल फुट्ने जोखिम अझै उच्च रहेको जानकारी गराएका थिए।
भेटवार्तामा नदी किनारका बासिन्दाको पुनर्वास, हरित पुनर्निर्माण तथा जलवायुजन्य विपद् व्यवस्थापनका विषयमा छलफल भएको थियो। साथै, अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्नका लागि आवश्यक समर्थन जुटाउने विषयमा समेत कुराकानी भएको जनाइएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्