नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ६ गते सम्पन्न वडा अधिवेशनपछि पनि नुवाकोटका कतिपय वडाबाट क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमितिको पूर्ण विवरण जिल्ला निर्वाचन समितिसम्म पुग्न सकेको छैन।
कांग्रेसको निर्वाचन व्यवस्थाअनुसार क्रियाशील सदस्यताको संख्याका आधारमा वडाबाट क्षेत्रीय प्रतिनिधि चयन हुने व्यवस्था छ। कतिपय वडाबाट ५० जनाभन्दा बढी प्रतिनिधि चयन हुने अवस्था रहे पनि अधिवेशन सम्पन्न भएको केही दिन बितिसक्दा समेत नामावली पूर्ण रूपमा संकलन हुन नसकेको देखिएको छ।
१४ औ महाधिवेशनकाे उत्साह जहाँ वडा समितदेखि नै क्षेत्रीय प्रतिनिधि छान्ने राती सम्म बसेर मतदान गरेकाे सम्झदै एक प्रतिनिधिले नुवाकोट पुकारसँग भने २०४६ पछि कांग्रेस महाधिवेशन अवस्था हेद्दा याे पटक जस्तो खल्लाे कहिलेइ भएन एउटै पाटीका साथीहरू बाहिर छन् ,हामी यहाँ ,नेताहरूले गम्भीर गल्ती गरेछन् भने अनुभव अधिवेशनकाे अवस्था हेद्दा लाग्याे,वडा अधिवेशन गर्दै हाे,कि शाेकसभा ,
यसैबीच नेपाली कांग्रेस नुवाकोटका जिल्ला सचिव बैकुण्ठ मिश्रले पार्टीको आन्तरिक समूहमा सन्देश पठाउँदै सबै वडाबाट वडा अधिवेशनको विवरण तत्काल जिल्ला निर्वाचन प्रतिनिधिसमक्ष बुझाउन आग्रह गरेका छन्।
उनले सबै वडाका क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमितिको विवरण प्राप्त भइनसकेको भन्दै सम्बन्धित पालिकाभित्रका वडालाई विवरण बुझाउन खबर गर्न आग्रह गरेका हुन्।
कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद र दुई धारबीचको प्रतिस्पर्धाको प्रभाव वडा अधिवेशनमा समेत परेको कांग्रेसका स्थानीय नेताकार्यकर्ताको भनाइ छ। उनीहरूका अनुसार कतिपय वडामा क्रियाशील सदस्यको उपस्थिति निकै न्यून रह्यो। कतिपय स्थानमा कुल क्रियाशील सदस्यको २५ देखि ३० प्रतिशतसम्म मात्रै उपस्थित भएको छैन घरमा पुगेर हस्ताक्षर गराउने क्रम चलिरहेको छ ।
अधिवेशनको दिन गणपूरक संख्या पुर्याउनसमेत कठिन भएको र कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयनका लागि आवश्यक सदस्यको उपस्थितिसमेत कमजोर रहेको कांग्रेसका केही नेताकार्यकर्ताको भनाइ छ। पार्टीभित्रको लामो समयदेखिको विवाद र दुई पक्षबीचको दूरीका कारण यस्तो अवस्था आएको उनीहरूको प्रतिक्रिया छ।
यसैबीच कतिपय वडामा एउटै परिवारका सदस्यदेखि अन्य राजनीतिक दलको गतिविधिमा खुलेर संलग्न रहेका व्यक्तिसमेत क्षेत्रीय प्रतिनिधि चयन भएको गुनासो सुनिन थालेको छ।
वडा अधिवेशन सम्पन्न भएको भनिए पनि प्रतिनिधिको विवरण संकलनमै ढिलाइ भएपछि कांग्रेसभित्रै प्रश्न उठ्न थालेका छन्। कतिपय कांग्रेसजनले व्यङ्ग्य गर्दै ‘अधिवेशन असोज ६ गते नै सकिएको हो कि अझै प्रतिनिधि खोज्ने क्रममै छ ?’ भन्ने प्रश्न गर्न थालेका छन्।
कांग्रेसका स्थानीय नेताकार्यकर्ताका अनुसार अहिले देखिएको विवाद र कमजोर सहभागिता तत्कालीन अधिवेशनको व्यवस्थापनमा मात्र सीमित नरही आगामी दिनमा संगठन सञ्चालनमा समेत असर पार्न सक्नेछ। लामो समयदेखि कायम दुई धारबीचको द्वन्द्व समाधान नभए त्यसको प्रभाव वडा तहदेखि माथिल्लो तहसम्म संगठनात्मक सम्बन्धमा पर्ने उनीहरूको अनुमान छ।
महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला वडा अधिवेशनको विवरणसमेत समयमै व्यवस्थित हुन नसक्नुले नुवाकोट कांग्रेसको आन्तरिक व्यवस्थापन र संगठनात्मक अवस्थामाथिगम्भीर धक्का पुगेको देखिन्छ भने देशभर यस्तै हालत रहेको धेरैको बुझाइ छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्