नुवाकोट — नेपाली कांग्रेसका केन्द्रीय सदस्य, चिकित्सक तथा लोकतान्त्रिक आन्दोलनमा लामो समयदेखि सक्रिय नेता डा. केदारनरसिंह केसीले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
नुवाकोट क्षेत्र नं. १ बाट १५औँ महाधिवेशन प्रतिनिधिमा अत्यधिक मतसहित निर्वाचित केसीले केन्द्रीय सदस्य पदमा पेशा/वर्ग क्लस्टरबाट उम्मेदवारी दिने तयारी गरेका हुन्।
विद्यार्थीकालदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका केसीको राजनीतिक यात्रा लामो र उतारचढावपूर्ण छ। १४औँ महाधिवेशनअन्तर्गत नुवाकोट कांग्रेसको जिल्ला सभापतिका लागि भएको निर्वाचनमा उनी रमेशकुमार महतसँग जम्मा १० मतको अन्तरले पराजित भएका थिए। केसीले ८२३ मत प्राप्त गर्दा महतले ८३३ मत पाएका थिए।
त्यो पराजयले उनको राजनीतिक यात्रा रोकिएन। बरु संगठन र कार्यकर्तासँगको निरन्तर सम्पर्कलाई उनले थप बलियो बनाउँदै लगे। अहिले १५औँ महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं. १ बाट सर्वाधिक मतसहित निर्वाचित हुँदै उनले आफूलाई फेरि कांग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय रूपमा प्रस्तुत गरेका छन्।
राजनीतिभन्दा बाहिर पनि जोडिएको सम्बन्ध
केसीको परिचय कांग्रेसको राजनीतिक वृत्तमा मात्र सीमित छैन। चिकित्सकका रूपमा लामो समयदेखि स्वास्थ्य सेवामा सक्रिय उनले राजनीतिक पहुँचलाई व्यक्तिगत स्वार्थभन्दा बाहिर राखेर सामाजिक सेवासँग जोडेको उनका कर्मबाट नै प्रष्ट छ ।
‘बिरामी अस्पताल भर्ना हुन नसक्दा होस्, उपचारका लागि आर्थिक अभाव हुँदा होस् वा अस्पतालमा सहुलियत आवश्यक पर्दा—धेरैले केदार डाक्टरलाई सम्झन्छन्,’ उनी निकट एक महाधिवेशन प्रतिनिधिले नुवाकोट पुकारसँग भने।
उनका अनुसार कतिपय बिरामीका लागि केसी केवल चिकित्सक होइनन्, कठिन अवस्थामा सहारा बन्ने व्यक्ति हुन्। उपचारका लागि पैसा नपुग्दा सहयोग जुटाउनेदेखि अस्पतालमा भर्ना र उपचारमा सहजीकरण तथा आवश्यक सहुलियत मिलाउन पहल गर्ने गरेको उनकाे आदत नै बनेको छ ।
‘कतिपयको जीवन बचाउन उहाँले गर्नुभएको सहयोगको हिसाब गरेर साध्य छैन। अस्पतालमा भर्ना नपाएका बिरामीको आशा पनि उहाँ नै बन्नुहुन्छ, उपचारमा डिस्काउन्ट आवश्यक पर्दा खोजिने व्यक्ति पनि उहाँ नै हुनुहुन्छ,’ ती प्रतिनिधिले भने, ‘उहाँको राजनीति र चिकित्सा सेवा अलग–अलग होइन, मानिससँग जोडिएको एउटै यात्राजस्तो देखिन्छ।’
केसी नेपाल मेडिकल एसोसिएसनका पूर्व अध्यक्षसमेत हुन्। प्रजातान्त्रिक विचार समाजको नेतृत्वसमेत गरेका उनले लोकतान्त्रिक मूल्य, विधि र प्रक्रियाको पक्षमा सार्वजनिक रूपमा धारणा राख्दै आएका छन्।
विपत्तिमा पनि उस्तै सक्रिय
भूकम्पदेखि कोभिड–१९ महामारीसम्मका विभिन्न विपत्तिमा केसी र उनको परिवारले गरेको सहयोगको चर्चा कांग्रेस वृत्तमा हुँदै आएको छ।
‘भूकम्प, कोभिड र अन्य विपत्तिका बेला केसी परिवारले गरेको सहयोगको श्रृंखला कोट्याउँदै जाने हो भने एउटा उपन्यास नै तयार हुन्छ,’ केसी निकट ती महाधिवेशन प्रतिनिधिले भने, ‘त्यो सहयोगको केन्द्रमा राजनीति थिएन, मानिसको पीडा थियो।’
उनका अनुसार केसीको स्वभावमा राजनीतिक प्रतिस्पर्धाभन्दा मानवीय सम्बन्धलाई प्राथमिकता दिने पक्ष बलियो छ। कांग्रेसभित्र लामो समयदेखि प्रभावशाली केसी परिवारसँग जोडिए पनि डा. केदारनरसिंह केसीलाई परिवारभित्रकै अन्य नेताभन्दा शालीन, सहज र सहयोगी स्वभावका नेताका रूपमा कार्यकर्ताले बुझ्ने गरेको उनको भनाइ छ।
अब परीक्षा उम्मेदवारीको मात्र होइन
डा. केदारनरसिंह केसीको केन्द्रीय सदस्य पदको उम्मेदवारीसँगै कांग्रेसभित्र एउटा फराकिलो प्रश्नसमेत उठेको छ—अब कांग्रेसले कस्ता नेता खोज्दैछ? चिकित्सकीय पेशा, सामाजिक सेवा, लोकतान्त्रिक विचार र लामो राजनीतिक अनुभव बोकेका केसीको उम्मेदवारीलाई उनका समर्थकहरूले कांग्रेसमा पेशागत तथा बौद्धिक क्षेत्रबाट आउने प्रतिनिधित्वसँग जोडेर हेरेका छन्।
तर यो उम्मेदवारी केसीका लागि पनि एउटा राजनीतिक परीक्षा हो। पार्टीभित्र कुन पृष्ठभूमिका नेता र कुन प्रकारको योगदानलाई महत्त्व दिइन्छ भन्ने सन्देश उनको उम्मेदवारीको परिणामले दिनेछ। एकातिर संगठनभित्रको लामो राजनीतिक अनुभव, अर्कोतिर चिकित्सकका रूपमा समाजमा बनाएको सम्बन्ध—यी दुवै पाटोलाई लिएर केसी अहिले केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रिएका छन्।
अर्को तर्फ केेसी कांग्रेस एकताको पक्षधर पनि हुन् ।उनी लामाे समय एकताका पक्षमा समेत सक्रिय थिए तर सम्भव भएन् ।अझै एकता हाेस् भन्ने चाहाना राख्नेछ ।
कांग्रेसको राजनीतिमा पद प्राप्त गर्नु मात्र उद्देश्य हो कि लामो समय जनतासँग जोडिएर गरेको योगदान पनि नेतृत्व चयनको आधार बन्छ—डा. केदारनरसिंह केसीको उम्मेदवारीले यही बहसलाई थप अगाडि ल्याएको छ।



नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्