काठमाडौं । अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेल खेलेका छन्। ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा मंगलबार ८५ हजारभन्दा बढी समर्थकमाझ मेस्सीले भावुक हुँदै अर्जेन्टिनाको जर्सीलाई बिदाइ गरेका हुन्।
दुई दशकभन्दा बढी समय अर्जेन्टिनाको राष्ट्रिय टोलीमा बिताएका मेस्सीले यो जर्सी लगाउन पाउनु आफ्नो जीवनकै ठूलो गौरव भएको बताए।
समर्थकलाई सम्बोधन गर्दै उनले भने, “मैले कहिल्यै संघर्ष गर्न छाडिनँ र आफ्नो क्षमताअनुसार सबै कुरा दिने प्रयास गरें। अर्जेन्टिनाका लागि खेल्नु जीवनकै सबैभन्दा सुन्दर अवसर हो।”
मेस्सीको सम्बोधनका क्रममा रंगशाला भावुक बनेको थियो। उनका सहकर्मी, प्रशिक्षक लियोनल स्कालोनीसहितको टोली र हजारौँ समर्थकले उभिएर उनलाई सम्मान गरेका थिए।
मेस्सीले अब आफू राष्ट्रिय टोलीको समर्थकका रूपमा रहने र नयाँ पुस्ताका खेलाडीलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। उनका अनुसार अर्जेन्टिनाको शक्ति एकता हो र आगामी पुस्ताका लागि विगतका उपलब्धि दोहोर्याउनु चुनौतीपूर्ण हुनेछ।
अन्तिम खेलमा पनि मेस्सीको प्रभाव
मेस्सीको अन्तिम खेल केवल बिदाइमा सीमित रहेन। उनले मैदानमा पनि आफ्नो प्रभाव देखाए।
४८औँ मिनेटमा मेस्सीले प्रहार गरेको कर्नरमा निकोलास ओटामेन्डीले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। त्यसपछि मेस्सीले युवा खेलाडी निकोलास पाजलाई गोलको अवसर सिर्जना गरे। पाजले ६१औँ मिनेटमा गोल गर्दै उक्त सफलता मेस्सीलाई समर्पित गरे।
त्यसको करिब १० मिनेटपछि मेस्सी आफैंले पेनाल्टीमार्फत गोल गरे। बायाँ खुट्टाले प्रहार गरेको बल गोलको माथिल्लो कुनामा पुगेपछि रंगशाला ‘ओले, ओले, मेस्सी’ को नाराले गुञ्जियो।
खेल सुरु भएको १० मिनेटपछि रेफ्रीले विशेष रूपमा खेल रोक्दै अर्जेन्टिनाका कप्तानलाई सम्मान गरेका थिए। विपक्षी खेलाडी र उनका सहकर्मीहरू मेस्सीलाई बधाई दिन पुगे भने समर्थकहरूले उभिएर ताली बजाएका थिए।
२० वर्षको राष्ट्रिय टोली यात्रा टुंगियो
३९ वर्षीय मेस्सीले अगस्ट ३१ मै अर्जेन्टिनाको राष्ट्रिय टोलीसँगको यात्रा अन्त्य गर्ने संकेत गरेका थिए। अन्तिम खेलसँगै उनले अर्जेन्टिनाका लागि २०८औँ खेल पूरा गरेका छन्।
यस अवसरमा मेस्सीले विशेष डिजाइन गरिएको आकाशे नीलो–सेतो जर्सी लगाएका थिए। जर्सीमा ठूलो सूर्यको आकृति र पछाडि सुनौलो १० नम्बर राखिएको थियो।
अन्तिम खेलपछि उनले अर्जेन्टिनालाई उपाधि दिलाउन आफूहरूसँगै संघर्ष गरेका सहकर्मीलाई धन्यवाद दिए। उनले राष्ट्रिय टोलीलाई कमजोर बनाउन चाहनेहरू भए पनि आफूहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।
संघर्षदेखि विश्वकप जितसम्म
मेस्सीले सन् २००५ मा अर्जेन्टिनाको सिनियर टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए। राष्ट्रिय टोलीमा उनको प्रारम्भिक यात्रा भने अपेक्षाअनुसार सहज थिएन।
लगातारको असफलता र आलोचनाबीच उनले सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाए। त्यसपछि मेस्सी अर्जेन्टिनामा राष्ट्रिय नायकका रूपमा स्थापित भए।
अन्तिम खेलमा उनी आफ्ना तीन छोरा थियागो, माटेओ र सिरोसहित मैदानमा पुगेका थिए। राष्ट्रिय गान बज्दा उनी भावुक देखिएका थिए। गोलरक्षक एमिलियानो मार्टिनेजले समेत उनको काँधमा हात राख्दै भावुक क्षणमा साथ दिएका थिए।
समर्थकका लागि भावुक क्षण
मेस्सीको अन्तिम खेल हेर्न अर्जेन्टिनाका विभिन्न क्षेत्रबाट समर्थक ब्युनस आयर्स पुगेका थिए।
तुकुमानबाट एक हजार किलोमिटरभन्दा बढी यात्रा गरेर आएका रेबेका एरियास र डानियल लेमाले मेस्सीको सम्मानमा विशेष टोपीसमेत तयार पारेका थिए। त्यसमा मेस्सीले खेलेका विश्वकपसँग सम्बन्धित चित्र र उनको बिदाइलाई समर्पित सन्देश राखिएको थियो।
उनीहरूले यो क्षण जीवनमा फेरि दोहोरिन नसक्ने भएकाले लामो यात्रा गरेर भए पनि रंगशाला आउनु सार्थक भएको बताएका थिए।
विश्वकपमा फेरि उपाधिको नजिक
मेस्सीको अन्तिम विश्वकप यात्रामा पनि अर्जेन्टिना उपाधिको नजिक पुगेको थियो। फाइनलमा स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिना उपविजेतामा सिमित बन्याे ।
तर प्रतियोगितामा मेस्सीको प्रदर्शन भने प्रभावशाली रह्यो। उनले विश्वकपमा आठ गोल गर्नुका साथै चार असिस्ट पनि गरेका थिए।
उनको प्रदर्शनका कारण उनी फेरि बालोन डी’ओरको चर्चामा आएका छन्। स्पेनका लामिन यामाल र फ्रान्सका किलियन एमबाप्पेसँग उनको प्रतिस्पर्धा हुने चर्चा छ। मेस्सी यसअघि आठपटक बालोन डी’ओर जितिसकेका छन्।
बिदाइअघि मानार्थ विद्यावारिधि
राष्ट्रिय टोलीसँग अन्तिम खेल खेल्नुअघि मेस्सीलाई ब्युनस आयर्स विश्वविद्यालय (UBA) ले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो।
राष्ट्रिय टोलीका लागि उनको योगदान तथा फुटबल मैदानबाहिर पनि उनले पारेको प्रभावको सम्मानस्वरूप विश्वविद्यालयले उनलाई प्रमाणपत्र र पदकसहित उक्त सम्मान दिएको हो।
अन्तिम खेल सकिएपछि मेस्सीले मैदानको एक्लै चक्कर लगाए। हजारौँ समर्थकले ‘मेस्सी, मेस्सी’ भन्दै गरेको नाराबीच उनले अर्जेन्टिनाको जर्सीमा आफ्नो अन्तिम रातलाई भावुक र अविस्मरणीय बनाए।
“म अर्जेन्टिनी भएकोमा गर्व गर्छु। तपाईंहरूसँग मिलेर यो सपना पूरा गर्न पाएकोमा अझ बढी गर्व छ,” मेस्सीले अन्तिम सम्बोधनमा भने।
- एजेन्सीकाे सहयाेगमा
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्