काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका प्रत्याशी गगन थापा र वरिष्ठ उपसभापति निर्वाचित विश्वप्रकाश शर्माले प्रत्यक्ष रूपमा औपचारिक टिम घोषणा नगरे पनि पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि आफ्नो पक्षबाट अघि सारिने नेताहरूको खाका भने बन्दै गएको देखिएको छ।
दुवै नेताले सार्वजनिक रूपमा टिम घोषणा नगरे पनि केही नेताहरूले विभिन्न पदका उम्मेदवारीमा ‘ग्रिन सिग्नल’ पाइसकेको कांग्रेसभित्र चर्चा छ। यससँगै महाधिवेशनमा गगन–विश्व पक्षबाट कुन नेताले कुन पदमा प्रतिस्पर्धा गर्ने भन्नेबारे पनि आन्तरिक रूपमा तस्वीर स्पष्ट हुँदै गएको स्रोतहरूको दाबी छ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भइसकेको अवस्थामा बाँकी पदाधिकारीमा आफ्नो पक्ष बलियो बनाउन गगन–विश्व पक्षले उम्मेदवार छनोटलाई तीव्रता दिएको बताइएको छ।
यसक्रममा देवराज चालिसे, मिनेन्द्र रिजाललगायतका नेताहरू उम्मेदवारीबाट पछि हट्नुले समेत सम्बन्धित पदमा कसलाई अघि सार्ने तयारी भइरहेको छ भन्ने संकेत गरेको कांग्रेस वृत्तमा चर्चा छ।
स्रोतका अनुसार उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्यलाई अघि सार्ने तयारी छ। समावेशी उपसभापतिमा भने विनोद चौधरी वा फर्मुल्लाह मन्सुरमध्ये एकलाई अघि सार्ने सम्भावना रहेको बताइएको छ।
महामन्त्रीतर्फ पुरुषमा प्रदीप पौडेल र महिलातर्फ डिना उपाध्यायलाई गगन–विश्व पक्षको ‘ग्रिन सिग्नल’ रहेको स्रोतको दाबी छ। महामन्त्रीमा विशेष बाट आएका गुरु घिमिरे र देउवा पक्षबाट आएका उदयशमशेर राणा गगन विश्वकाे राेजाइमा परेकाे देखिदैन ।गगनलाइ काम गर्न सहज प्रदिप हुने विगतले खेदाइसकेकाे छ ।तर पनि महामन्त्रीमा भने मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
सहमहामन्त्रीका विभिन्न क्लस्टरतर्फ पनि उम्मेदवारको खाका बनिसकेको बताइएको छ। खुलातर्फ रमेश धमला वा अजयबाबु शिवाकोटी, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा, दलिततर्फ प्रकाश रसाइली, मधेसीतर्फ महेन्द्र यादव, खस–आर्यतर्फ मनोजमणि आचार्य, पिछडिएको क्षेत्रतर्फ जनक गिरी र अल्पसंख्यकतर्फ आङ्गेलु शेर्पाको नाम चर्चामा छ।
विशेषगरी खस–आर्यतर्फको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। मनोजमणि आचार्य विशेष महाधिवेशन सफल बनाउन भूमिका खेल्ने प्रमुख नेतामध्ये एक मानिन्छन्। सोही क्लस्टरबाट उम्मेदवारी घोषणा गरेका नुवाकोट कांग्रेसका नेता जगदीश्वरनरसिंह केसी पनि विशेष महाधिवेशन पक्षधर रहे पनि गगन–विश्व पक्षले आचार्यलाई रोजेको स्रोतको दाबी छ। आचार्यलाई सहमहामन्त्रीको उम्मेदवार बनाउने विषयमा यसअघि नै समझदारी बनेको बताइएको छ। केसी बलिया उम्मेदवार र विशेष पक्षमा बलिया खम्बा भएपनि विगतमा उनले नेताहरुप्रति राखेको धारणाले आफैलाइ अप्ठ्यारो परेकाे कांग्रेस वृतमा चर्चा छ ।संसदीय दलकाे नेता छनाेटका विषयमा केसीको धारण विश्वकाे डायरीमा नाेट भएको धेरैले अनुमान गरेका छन् ।
केन्द्रीय सदस्यतर्फ पनि गगन–विश्व पक्षले केही नेताहरूलाई अघि बढाउने संकेत गरिसकेको बताइएको छ। नुवाकोटबाट डा. केदारनरसिंह केसी र सीता मिजारलाई दुवै नेताको रोजाइमा परेको स्रोतको दाबी छ।
गगन–विश्व पक्षको सम्भावित टिममा नपरेका नेताहरूले पनि विभिन्न पदमा उम्मेदवारी घोषणा दिएकाले महाधिवेशनमा प्रतिस्पर्धाको स्वरूप रोचक बन्ने देखिएको छ। विशेषगरी महामन्त्री पदमा बहुपक्षीय प्रतिस्पर्धा हुने सम्भावना बढी देखिन्छ।
उपसभापतिमा भने गगन–विश्व पक्षले बलियो समीकरण निर्माण गरिसकेको अवस्थामा प्रतिस्पर्धा त्यति तीव्र नहुने आकलन गरिएको छ। महिला महामन्त्रीमा भने विभिन्न समूहका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुन सक्ने कांग्रेस नेताहरूको बुझाइ छ।
समावेशी सहमहामन्त्रीका विभिन्न क्लस्टरमा समेत गगन–विश्व पक्षले उम्मेदवारको प्रारम्भिक खाका तयार गरिसकेको देखिए पनि अन्तिम निर्णय भने महाधिवेशनको राजनीतिक समीकरण, नेताहरूबीचको सहमति परिवर्तन हुन सक्ने सम्भावना छ।
यसरी औपचारिक रूपमा टिम घोषणा नभए पनि गगन थापा र विश्वप्रकाश शर्माले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म आफ्नो पक्षका सम्भावित उम्मेदवारलाई क्रमशः ‘ग्रिन सिग्नल’ दिँदै गएको कांग्रेसभित्रको राजनीतिक वृत्तमा चर्चा छ।जसले गर्दा अन्य उम्मेदवार उम्मेदवार बन्नका लागि बनेको हुने अनुमान कांग्रेस महाधिवेशनमा चलेको देखिन्छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्