कांग्रेस सभापतिका उम्मेदवार खड्गीको अपिल– ‘दबाब र प्रभावमा नपरी विवेकको मत प्रयोग गरौँ’

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन २२, बिहीबार १६:३८

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै दबाब र प्रभावमा नपरी विवेकको मत प्रयोग गर्न अपिल गरेका छन्।


खड्गीले कांग्रेसका संस्थापक नेता बीपी कोइरालासहित लोकतान्त्रिक आन्दोलनमा योगदान गर्ने नेता तथा सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई ‘जय नेपाल’को अभिवादन गरेका छन्।


उनले नेपाली कांग्रेस मुलुकको पुरानो र ऐतिहासिक लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउँदै सशक्त कांग्रेस निर्माण गर्ने उद्देश्यले आफूले सभापतिमा उम्मेदवारी दिएको बताएका छन्।


‘पार्टीमा निर्विकल्प कोही पनि हुँदैन’ भन्ने मान्यताका साथ आफू उम्मेदवार बनेको बताउँदै खड्गीले कांग्रेस र लोकतन्त्रमाथि आउने चुनौती सामना गर्न सक्ने पार्टी निर्माणका लागि आफू महाधिवेशनको मैदानमा रहेको उल्लेख गरेका छन्।


उनले महाधिवेशन प्रतिनिधिहरूलाई स्वतन्त्र र विवेकपूर्ण ढंगले मतदान गर्न आग्रह गर्दै मतदान, मतगणना र परिणाम घोषणाको प्रक्रिया निष्पक्ष र निर्भय वातावरणमा सम्पन्न हुने सुनिश्चितता गर्नसमेत सम्बन्धित पक्षसँग अनुरोध गरेका छन्।

यस्ताे छ अपिल

सर्वप्रथम नेपाली कांग्रेस पार्टीको स्थापना गर्नुहुने महामानव बीपी कोइरालासहितका संस्थापक नेताहरू र नेपालको लोकतान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछु।
१५औँ महाधिवेशनमा सहभागी भइरहनुभएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूमा जय नेपालको न्यानो अभिवादन।
नेपाली कांग्रेस मुलुकको सबैभन्दा पुरानो र ऐतिहासिक पार्टी हो। कांग्रेसले सधैँ आन्तरिक र बाह्य लोकतन्त्रको पक्षमा संघर्ष गर्दै आएको छ। मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्रको अभ्यासलाई बलियो बनाउँदै सशक्त पार्टी निर्माण गर्ने उद्देश्यका साथ अघि सारिएको हो। पार्टीमा निर्विकल्प कोही पनि हुँदैन भन्ने मान्यताका साथ तपाईं महाधिवेशन प्रतिनिधिसमक्ष उम्मेदवारका रूपमा खडा भएको छु।
नेपाली कांग्रेस र लोकतन्त्रमाथि देखा परेका हरेक चुनौती सामना गर्न सक्षम कांग्रेस निर्माण गर्ने हुटहुटी, कार्ययोजना र तत्परतासहित महाधिवेशनको मैदानमा छु।
सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई कुनै दबाब र प्रभावमा नपरी विवेकको मत प्रयोग गर्न अपिल गर्दछु।
साथै निष्पक्ष र निर्भय रूपमा मतदान, मतगणना र परिणाम घोषणाको प्रत्याभूति गर्न अनुरोध गर्दछु।
श्यामकृष्ण खड्गी
सभापति पदका उम्मेदवार
नेपाली कांग्रेस
१५औँ महाधिवेशन

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *