नुवाकोट । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर समूहले नुवाकोटको पञ्चकन्या गाउँपालिकामा पालिकामा १५ औ महाधिवेशन सुरु गरेको छ। अधिवेशनमा पालिकास्तरीय प्रतिनिधिहरूको सहभागिता रहेको छ।
पालिका सभापतिका लागि यमबहादुर थापा, राजीव स्याङ्तान, रमणबहादुर सिटौला, गंगाराम लामिछाने, लक्ष्मण खनाल र विकास महत गरी ६ जना आकांक्षी देखिएका छन्।
सभापतिका आकांक्षीबीच सहमति हुन नसकेपछि थप सहमति जुटाउन पालिका संयोजक गंगाराम लामिछानेको संयोजकत्वमा पाँचवटै वडाका सभापति सदस्य रहेको कार्यदल गठन गरिएको छ। उक्त कार्यदलले आकांक्षीहरूबीच सहमति कायम गराउने प्रयास गर्ने स्थानीय नेता सुसान्त सिटौलाले यसबारे नुवाकोट पुकारलाई जानकारी दिएका हुन्।
कांग्रेसको संस्थापनइतर समूह अर्थात् देउवा समूहले स्थानीय तहमा वडा अधिवेशन सम्पन्न गरेपछि पालिका अधिवेशन सुरु गरेको हो। अधिवेशनमा उत्साहजनक सहभागिता रहेको आयोजक पक्षले दाबी गरेको छ ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्