नुवाकोट कांग्रेसमा गुटको विरासतलाई चुनौती दिँदै जगदीश कुइँकेल,सक्लान पुरानाे विरासत भत्काउन ?

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन २९, बिहीबार १३:१२

नेताका खल्तीका होइन, आफ्नै विवेक र स्वाभिमानका आधारमा राजनीति गर्ने अभियानमा युवा नेता कुइँकेल; १५औँ महाधिवेशनबाट पुरानो शक्ति समीकरणलाई चुनौती

– नुवाकोट पुकार समाचारदाता

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको राजनीति २०४६ सालको जनआन्दोलनपछि पनि लामो समय अर्जुननरसिंह केसी र महत परिवारको प्रभाववरिपरि घुम्दै आएको छ। डा. रामशरण महतदेखि डा. प्रकाशशरण महतसम्मको राजनीतिक प्रभाव र जिल्लामा स्थापित विभिन्न गुटको शक्ति संघर्षबीच पार्टीका लागि जीवनको उर्वर समय खर्चिएका बद्रीराम भण्डारी, ध्रुव अधिकारी, विष्णु आचार्यलगायत नेताहरूको योगदान र अवसरबीचको अन्तरबारे प्रश्न उठ्दै आएको थियाे । यि तीन नेता मध्ये अधिकारी मात्र जिवित छन् ।


पार्टीका लागि संघर्ष गर्नेहरू पछाडि पर्ने र नेतानिकटताका आधारमा अवसर प्राप्त हुने प्रवृत्तिविरुद्ध अहिले युवा पुस्ताले आवाज उठाउन थालेको छ। यही अभियानको अग्रपंक्तिमा देखिएका छन्—युवा नेता जगदीश कुइँकेल।


नेताको गोटी वा खल्तीको पात्र बनेर राजनीतिक अवसर खोज्नुभन्दा आफ्नै विवेक, आत्मसम्मान र निष्ठाका आधारमा अघि बढ्नुपर्छ भन्ने मान्यतासहित कुइँकेलले १५औँ महाधिवेशनमा नुवाकोटका स्थापित केसी–महत समूहलाई चुनौती दिएका छन्। क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा आफ्नै टिमको नेतृत्व गर्दै उम्मेदवारी दिएका उनले प्रदेशस्तरमा समेत आफ्नो समूहलाई प्रतिस्पर्धामा उतारे। उनको समूहबाट अघि बढेका दिनेश पण्डित प्रदेश सभापतिमा निर्वाचित भए।


स्थापित राजनीतिक समूहको प्रभाव र दबाबबीच कुइँकेल समूहले क्षेत्र नम्बर १ मा आफ्नो उपस्थिति स्थापित गर्नु नुवाकोट कांग्रेसको बदलिँदो राजनीतिक मनोविज्ञानको संकेतका रूपमा हेरिएको छ। यो अभियान जिल्ला तहसम्म विस्तार हुन सके परम्परागत शक्ति समीकरणमा नयाँ चुनौती थपिने देखिन्छ।


लामो समय केसी परिवारनिकट रहेर राजनीति गरेका कुइँकेल आफ्नै योगदानअनुसार सम्मान नभएको असन्तुष्टिपछि स्वतन्त्र राजनीतिक पहिचान निर्माणको प्रयासमा जुटेका हुन्। उनको अभियानमा शिव गुणी, दीपक भण्डारीलगायत नेता तथा कार्यकर्ता साथमा रहेको बताइन्छ। सरोज केसी र कुमार गुरुङले समेत कुनै समय लिखित समर्थन जनाएको भए पनि पछि परम्परागत समूहमा फर्किएको राजनीतिक घटनाक्रमले नयाँ विकल्प निर्माणको कठिनाइलाई देखाउँछ। यद्यपि यतिखेर उनकाे प्रयास प्रति नुवाकोटका युवा जमातले खुलेर प्रसंशा गरिरहेका छन् । कुईकेलकाे याे अभियानप्रति सम्मान र समर्थन जनाउँदै एक युवा नेताले नुवाकोट पुकारसँग भने,नुवाकोटमा नेताकाे घरमा पुगेर चाकडी गर्ने पदमा पुग्ने र नगर्ने सकडमा हुने अवस्था छ र थियाे,यसका विरुद्ध युवाहरु अब आफ्नै बलबुतामा अघि बढ्ने प्रयास भएको छ ,याे खुशीकाे कुरा हाे ।


२०५१ सालमा अमरज्योति माध्यमिक विद्यालयको इकाइ अध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका कुइँकेल २०५४ मा क्षेत्रीय सचिव, २०५६ मा नेपाल विद्यार्थी संघको जिल्ला सदस्य र २०५९ सालदेखि तीन कार्यकाल जिल्ला अध्यक्ष बने। जनआन्दोलनका क्रममा भक्तपुर र नुवाकोटका जेलमा समेत बसेका उनी सादा जीवन, स्पष्ट विचार र राजनीतिलाई समाजसेवाको माध्यम बनाउने मान्यताका कारण युवामाझ परिचित छन्।


कुइँकेलको उदय कुनै एक नेताविरुद्धको असन्तुष्टि मात्र होइन, पार्टीभित्र योगदान, क्षमता र निष्ठाका आधारमा अवसर पाउनुपर्छ भन्ने पुस्तान्तरणको आवाज पनि हो। हिजो प्रजातन्त्रका लागि संघर्ष गर्ने नेताहरूले भोगेको उपेक्षाको प्रश्न आज नयाँ पुस्ताले उठाइरहेको छ। फरक यति हो—अब असन्तुष्टि व्यक्त गरेर मात्र होइन, आफ्नै टिम निर्माण गरेर नेतृत्वमा प्रतिस्पर्धा गर्ने प्रयास भइरहेको छ। जुन कुरा सभापति गगन थापाले केन्द्रबाट स्पष्ट सन्देश दिइसकेका छन् ।


नुवाकोट कांग्रेसमा कुइँकेलको अभियानले नयाँ राजनीतिक संस्कार स्थापित गर्न सक्छ कि अर्को गुटको निर्माणमा सीमित हुन्छ, त्यो आगामी दिनले देखाउनेछ। तर उनको चुनौतीले एउटा महत्त्वपूर्ण बहस भने जन्माएको छ—कांग्रेसमा राजनीतिक भविष्य बनाउन अब पनि नेताको फेरो समात्नैपर्ने हो कि आफ्नै क्षमता, त्याग र स्वाभिमानका आधारमा अघि बढ्न पाइन्छ?


१५औँ महाधिवेशनमा कुइँकेलले उठाएको यही प्रश्नले नुवाकोट कांग्रेसको आगामी राजनीतिक दिशा निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने देखिन्छ । यद्यपि युवाहरुबिच साझा मुद्दा तयार नभएसम्म युवाहरूको अभियान सग्लो रहने कुरामा भने शंका देखिन्छ । तर उनकाे अभियानले सार्थकता पायाे र शक्ति सँग सम्झाैता गरेनन् भने नुवाकोटमा धेरै युवा नेताहरका लागि नेतृत्वमा पुग्ने बाटाे भने निश्चयनै खुल्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *