सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित डा केदारनरसिंह, केसी परिवारको विरासत अब उनको काँधमा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन २९, बिहीबार १९:१५



काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेसागत क्षेत्रबाट केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका लागि भएको निर्वाचनमा ३ हजार २५३ मत प्राप्त गर्दै विजयी बनेका केसीको सफलतासँगै कांग्रेसमा उनको राजनीतिक उचाइ थप बढेको छ।

यसलाई नुवाकोटको राजनीतिमा केसी परिवारको विरासत नयाँ पुस्तामा हस्तान्तरण भएको संकेतका रूपमा समेत हेरिएको छ।
पेशाले चिकित्सक तथा प्रजातान्त्रिक विचार समाजका पूर्वअध्यक्ष केदारनरसिंह देशभरका कांग्रेस नेता तथा कार्यकर्ताका लागि सहयोगी चिकित्सकका रूपमा परिचित छन्। लामो समयदेखि पार्टीका नेता–कार्यकर्तासँग निकट रहेर सामाजिक तथा राजनीतिक सम्बन्ध विस्तार गरेका उनी अब चिकित्सकीय सेवाको पहिचानबाट अघि बढ्दै कांग्रेसको केन्द्रीय नेतृत्वमा अनुमोदित भएका छन्।


उनको यो जितलाई व्यक्तिगत सफलतामा मात्र सीमित गरेर हेर्न सकिँदैन। नुवाकोटको कांग्रेस राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएका अर्जुननरसिंह केसीको राजनीतिक विरासत अब केदारनरसिंहको काँधमा आइपुगेको विश्लेषण हुन थालेको छ। सर्वाधिक मतसहितको विजयले उनको व्यक्तिगत लोकप्रियता र पार्टीभित्रको स्वीकार्यतालाई समेत प्रतिबिम्बित गरेको छ।


यद्यपि, केसी परिवारको राजनीतिक प्रभाव विस्तारको अर्को महत्त्वपूर्ण पक्ष पनि छ। केदारनरसिंहका भाइ जगदीश्वरनरसिंह केसी पनि कांग्रेसको सहमहामन्त्री पदका उम्मेदवार छन्। उनको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी छ। जगदीश्वरनरसिंह पनि निर्वाचित भएमा कांग्रेसको केन्द्रीय नेतृत्वमा केसी परिवारको प्रतिनिधित्व थप बलियो हुनेछ।


जगदीश्वरनरसिंह पराजित भए पनि केदारनरसिंहको सर्वाधिक मतसहितको विजयले केसी परिवारको राजनीतिक प्रभाव कमजोर हुने देखिँदैन। बरु, केदारनरसिंहको केन्द्रीय सदस्यमा निर्वाचित हुनुले नुवाकोटको कांग्रेस राजनीतिमा परिवारको प्रभावलाई निरन्तरता दिने आधार तयार गरेको छ।


नुवाकोटबाट बहादुरसिंह लामा सहमहामन्त्रीमा निर्वाचित भइसकेका छन् भने अर्जुननरसिंह केसी यसपटक उम्मेदवार बनेका छन्। यस्तो अवस्थामा केसी परिवारका दुई पुस्ताको राजनीतिक भूमिका र जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेताहरूको उपस्थितिले नुवाकोट कांग्रेसको आगामी शक्ति सन्तुलनमा महत्त्वपूर्ण प्रभाव पार्ने देखिन्छ।


पेसागत क्षेत्रबाट केन्द्रीय सदस्यमा निर्वाचित अन्य नेतामध्ये प्रा.डा. जगदीशचन्द्र पोखरेलले २ हजार ५७७, अधिवक्ता सीताराम केसीले १ हजार ५३६, डा. प्रदीप मिश्रले १ हजार ४७८ र केशव निरौलाले १ हजार २३२ मत प्राप्त गरेका छन्। उनीहरू पाँचै जना निर्वाचित भएका हुन्।


डा. केदारनरसिंह केसीको विजयले कांग्रेसको केन्द्रीय राजनीतिमा उनको नयाँ भूमिका स्थापित गरेको छ। अब उनको राजनीतिक सक्रियता, नेतृत्व क्षमता र संगठनमा प्रभावले नुवाकोटको कांग्रेस राजनीतिमा केसी परिवारको विरासतलाई कुन दिशामा अघि बढाउँछ भन्ने चासो बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *