काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशनमा सहभागी नभए पनि सोही महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई घरमै बोलाएर बधाई दिन थालेका छन्।॥चच
खड्काले शुक्रबार आफ्नै निवासमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खुलातर्फ सहमहामन्त्रीमा निर्वाचित रामहरि खतिवडासहित विभिन्न पदमा निर्वाचित नेताहरूलाई बोलाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन्।
खड्काले सहमहामन्त्री खतिवडासँगै केन्द्रीय सदस्यमा निर्वाचित सीता कुमारी राना, बासना थापा र शान्ति परियार (वि.क.) लगायतलाई बधाई दिएका छन्।
त्यस्तै, ३५ वर्षमुनि कर्णाली प्रदेश भूगोल पुरुषतर्फ केन्द्रीय सदस्यमा निर्वाचित मोहन राना, महिलातर्फ निर्वाचित भगवती शाही तथा ३५ वर्षमुनि खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित इन्जिनियर रोशन बस्नेतलाई समेत खड्काले बधाई दिएका छन्।
खड्काले युवा पुस्ताको उपस्थितिले पार्टीमा नयाँ ऊर्जा र उत्साह थपेको भन्दै निर्वाचित सबैको सफल कार्यकालको शुभकामना दिएका छन्।
तर, खड्काको पछिल्लो व्यवहारलाई लिएर कांग्रेसभित्र भने प्रश्न उठ्न थालेको छ। खड्का १५औँ महाधिवेशनमा सहभागी भएका थिएनन्। उनले महाधिवेशन रोक्न र सहमतिको वातावरण बनाउनुपर्ने पक्षमा दबाब दिँदै आएका थिए।
विशेष महाधिवेशनलाई नै अवैधानिक र असंवैधानिक भन्दै खड्का पक्ष अदालतसम्म पुगेको थियो। विशेष महाधिवेशनबाट भएका निर्णय तथा त्यसको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदनसमेत दर्ता गरिएको थियो। अदालतले पुनरावलोकनका लागि अनुमति दिएपछि पनि खड्काले विशेष महाधिवेशनको वैधानिकतामाथि सार्वजनिक रूपमा प्रश्न उठाउँदै आएका थिए।
तर, आफूले अस्वीकार गर्दै आएको महाधिवेशन प्रक्रियाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई आफ्नै निवासमा बोलाएर बधाई दिन थालेपछि कांग्रेसभित्र खड्काको राजनीतिक अडानमाथि बहस सुरु भएको छ।
खड्काको यो व्यवहारलाई कतिपय कांग्रेस नेताहरूले ‘अडान र व्यवहारबीचको विरोधाभास’का रूपमा टिप्पणी गरेका छन्। विशेष महाधिवेशन नै असंवैधानिक भन्दै अदालतको ढोका ढकढक्याउने तर त्यही प्रक्रिया वा नेतृत्वले गराएकाे महाधिवेशन बाट निर्वाचित नेतृत्वलाई घरमै बोलाएर बधाई दिने कार्यले उनको राजनीतिक अडानमाथि प्रश्न उठाएको उनीहरूको भनाइ छ।
कांग्रेसभित्र खड्काको पछिल्लो कदमलाई कतिपयले बदलिँदो राजनीतिक परिस्थितिअनुसारको व्यवहार भनेका छन् भने कतिपयले यसलाई **‘अडानहिन राजनीति’**को संज्ञा दिएका छन्।
यद्यपि, खड्का पक्षले भने पार्टीभित्रको विवादलाई थप नचर्काई निर्वाचित नेतृत्वसँग संवाद र सहकार्य अघि बढाउने उद्देश्यले बधाई तथा शुभकामना आदानप्रदान गरिएको बताउने गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्