मैरिटारमा बाढीपीडितका लागि ४० घरटहरा निर्माण सुरु

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १७, मंगलवार १८:४१

कात्तिक १७, नुवाकोट । भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढीबाट घरबारविहीन बनेका परिवारको पुनःस्थापनाका लागि नेशनल भोलिन्टियर फोर्सले नुवाकोटको मैरिटारमा ४० वटा घरटहरा निर्माण सुरु गरेको छ।


नेकपा एमालेका केन्द्रीय सचिव महेश बस्नेतले बुधबार विदुर नगरपालिका–३ स्थित बुधसिङघाटको मैरिटारमा आयोजित एक कार्यक्रमबीच आवास निर्माण कार्यको उद्घाटन गरेका हुन्।
भदौ १० गते आएको भोटेकोशी बाढीका कारण विस्थापित भएका मैरिटारका बाढीपहिरो प्रभावित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले घरटहरा निर्माण गर्न लागिएको हो।


विपद्का कारण घरबार गुमाएका नागरिकलाई पुनःस्थापना गर्ने उद्देश्यसहित सुरु गरिएको यस अभियानले प्रभावित परिवारलाई सुरक्षित बसोबासको व्यवस्था गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसअघि नेकपाले बेलकोटगढी नगरपालिकाको रातमाटेमा तथा नेकपा एमालेले विदुर नगरपालिका–५ पिपलटारमा बाढीपीडितका लागि अस्थायी आवास निर्माण गरिसकेका छन्।


भोटेकोशी–त्रिशूली बाढीका कारण नुवाकोटमा मात्रै झण्डै दुई हजार परिवार विस्थापित भएका छन्। ठूलो संख्यामा परिवार घरबारविहीन भएपछि उनीहरूको सुरक्षित आवास र पुनःस्थापनाको विषय चुनौतीका रूपमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *