
लुम्बिनी,(एजेन्सी) भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले आफ्नो नेपाल भ्रमण राजनीति गर्नका लागि नभई बेग्लै अनुभुति लिनका लागि भएको बताउनु भएको छ । उहाले नेपालमा रहेका अनेक प्रकारका धार्मिक र सांस्कृतिक सम्पदाका कारण आफु नेपालप्रति मोहित भएको बताउनुभयो । सोमबार २५६६ औं वुद्ध जयन्तीको अवसरका एक दिने नेपाल भ्रमण आउनु भएका मोदीले नेपाल धार्मिक, सांस्कृतिक सम्पदाकै कारण विश्वमा चिनिएको उल्लेख गर्नुभयो । कुनै बेला गौतम बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिनुभएका मोदीले यस पटक भने आफु गौतम बुद्धको जन्मभूमि आउन पाउँदा निकै खुशी भएको बताउनु भएको थियो । गौतमबुद्धको जन्मस्थल लुम्बिनी आएर मायादेवी मन्दिरको दर्शन गर्न पाउनु आफ्ना लागि गर्वको कुरा भएको उहाको भनाई थियो । मोदीले नेपालमा लुम्बिनी मात्र नभएर पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधामजस्ता ऐतिहासिक धार्मिक स्थलले नेपाललाई संसारभर चिनाएको पनि बताउनुभयो ।
भारतीय प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले भारतले गौतम बुद्ध नेपालमा जन्मिएको कुरालाई सहर्ष स्वीकार गरेको प्रष्ट हुन्छ । दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भएपछि पाँचौ पटक नेपाल आउनु भएका मोदीले नेपाल र भारतको सम्बन्ध अत्यन्त नजिकको मित्र जस्तै भएको स्मरण गराउँदै नेपालको बिना भारत अधुरो हुने समेत बताउनु भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको मैत्रीपूर्ण निमन्त्रणामा मोदी नेपाल आउनु भएको हो । नवनिर्मित अत्याधुनिक अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा मेडिटेसन हलमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मोदीले नेपाल सांस्कृतिक मात्र नभएर सगरमाथाको देश, दुनियाँको तीर्थ र मन्दिरको देश सँगै यो धार्मिक, सांस्कृतिक र सभ्यताको देश भएकाले लुम्बिनीजस्ता ऐतिहासिक क्षेत्रको विकासमा भारतले सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री देउवाले लुम्बिनी गौतम बुद्धसहितको मायाको चिनो प्रधानमन्त्री मोदीलाई प्रदान गर्नुभएको थियो । उहाले लुम्बिनिमा बुद्ध गुरुहरुले मन्त्र उच्चारण गरिरहँदा हात जोडेर ध्यान गर्नुभएको थियो । उहाले बुद्धगुरुहरुसँगै गौतम बुद्धको पुँजा समेत गर्नुभएको थियो ।

सो अवसरमा भारत सरकारले निर्माण गर्ने इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेज नेपालको नेपाल र भारतका प्रधानमन्त्रीद्वय देउवा र मोदीले संयुक्त रूपमा शिलान्यास गरिएको थियो । प्रधानमन्त्री मोदीलाई नेपालको धार्मिक स्थल लुम्बिनिमा प्रधानमन्त्री शेरबहादुर देउवा र उहाकी धर्मपत्नी प्रथम महिला श्रीमती राजु राणा देउवाले स्वागत गर्नुभएको थियो । सो अवसरमा मन्त्री, उच्च सरकारी अधिकारीहरुले पनि प्रधानमन्त्री मोदीलाई स्वागत गरेका थिए । एक दिने नेपाल भ्रमणका लागि लुम्बिनी आउनु भएका मोदी सोमबार अपरान्ह ४ बजे स्वदेश फर्कनु भएको थियो ।नेपाल र भारतबीच पाँचवटा समझदारी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक दिने नेपाल भ्रमणका क्रममा नेपाल र भारतबीच पाँच वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका अवसरमा दुई देशलाई हित हुनेगरी पाँच वटा विषयमा समझदारी भएको छ ।
समझदारीपत्रको पूर्ण विवरण
१. लुम्बिनी बुद्धिष्ट विश्वविद्यालय र इन्डियन काउन्सिल फर कल्चरल रिलेसन (आइसिसिआर) बीच सम्झौता ।
२. सेन्टर फर नेपाल एण्ड एसियन स्टडिस (सिएनएस) र त्रिभुवन विश्वविद्यालयसँग इन्डियन काउसन्सिल फर कल्चरल रिलेसन (आइसिसिआर) बीच सम्झौता ।
३. काठमाडौं विश्वविद्यालय र इन्डियन काउन्सिल फर कल्चरल रिलेसन (आइसिसिआर) सँग सम्झौता ।४. काठमाडौं विश्वविद्यालय र नेपाल एण्ड द इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजी मदरासवीच सम्झौता ।
५. अरुण ४ निर्माण गर्न एसजेभीएन कम्पनीबीच सम्झौता ।