राप्रपामा पहिरो: महिला नेतृ तुलसा पौड्याल पनि पार्टीबाट अलग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २२, शुक्रबार १६:५१

नुवाकोट, जेठ २२, — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आन्तरिक विवाद र असन्तुष्टिको श्रृंखला जारी रहँदा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय सदस्य तुलसा पौड्यालले पार्टी परित्याग गरेकी छन्।


पौड्यालले शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेकी हुन्। उनले लामो समयदेखि पार्टीप्रति इमानदारिता, लगनशीलता र निस्वार्थ भावनाका साथ जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गर्दै स्थानीय निर्वाचनदेखि विभिन्न सभा, सम्मेलन तथा जनआन्दोलनमा सक्रिय भूमिका खेलेको बताएकी छन्।


राजीनामा पत्रमा उनले राप्रपाभित्र निरन्तर देखिने विवाद, झैझगडा, कटाक्ष र अस्वस्थ गतिविधिले आफूलाई लज्जाबोध गराएको उल्लेख गर्दै आजकै मितिदेखि लागू हुने गरी पार्टीसँगको सम्बन्ध अन्त्य गरेको जनाएकी छन्।


पौड्याल २०७९ सालको स्थानीय तह निर्वाचनमा नुवाकोटको पञ्चकन्या गाउँपालिका उपाध्यक्ष पदकी उम्मेदवार समेत रहेकी थिइन्। उनी प्रतिनिधिसभा समानुपातिक उम्मेदवार सिफारिसमा समेत परेकी नेतृ हुन्।


यसअघि पनि नुवाकोटका अर्का नेताले पार्टी छाडिसकेका छन्। पछिल्लो समय महिला संगठनभित्र देखिएको असन्तुष्टि र नेतृत्वप्रतिको आलोचनाका कारण राप्रपामा संगठनात्मक चुनौती थपिएको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *