नुवाकोट । झिल्टुङ नेपाल समाजले इतिहास, संस्कृति र परम्परासँग जोडिएका पुराना सामग्री उपलब्ध गराउन स्थानीयवासी तथा सर्वसाधारणसँग अपिल गरेको छ।
समाजले ‘इतिहास खोजौँ, वर्तमानमा जोडौँ र भविष्यका लागि सोचौँ’ भन्ने अभियानअन्तर्गत पुराना तथा ऐतिहासिक सामग्री संकलन गर्न लागेको जनाएको हो। संस्थाले इतिहास र संस्कृतिको संरक्षणसँगै ज्ञानको पुस्तान्तरण तथा हस्तान्तरणमा योगदान पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरेको जनाएको छ।
समाजका अनुसार आगामी पुस्तालाई इतिहास, सभ्यता र प्राचीन पहिचानसँग परिचित गराउन पुराना सामग्रीको संरक्षण आवश्यक भएकाले समुदायमा निर्माणाधीन भवनमा संग्रहालय स्थापना गर्ने प्रयास भइरहेको छ।
यसका लागि स्थानीयका घरपरिवारमा रहेका पुराना भाँडाकुँडा, हतियार, काठकला, मूर्तिकला, हस्तकलाका सामग्री, लिखत वा लालमोहर, ताम्रपत्र तथा अन्य पुरातात्त्विक एवं ऐतिहासिक सामग्री भए समाजलाई उपलब्ध गराउन अनुरोध गरिएको छ। त्यस्ता सामग्रीका फोटो वा भिडियो भए पनि सम्बन्धित व्यक्तिलाई सम्पर्क गरी उपलब्ध गराउन समाजले आग्रह गरेको छ।
समाजका अध्यक्ष नारायण नेपालद्वारा जारी सूचनामा ऐतिहासिक सामग्रीको संरक्षणले विगतको पहिचानलाई भावी पुस्तासम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको छ। पुराना सामग्री उपलब्ध गराउन प्रदीप नेपाल, माधव नेपाल र गोकर्ण नेपाललाई सम्पर्क गर्न सकिने जनाइएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्