नेकपाको राष्ट्रिय जागरण अभियान भोलिदेखि, सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक ७, शुक्रबार १८:४४

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबारदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ। अभियान कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म देशभर सञ्चालन हुने पार्टीले जनाएको छ।

पार्टीको केन्द्रीय कार्यसंयोजन समितिले तय गरेको कार्यक्रमअनुसार अभियानको उद्घाटन काठमाडौंस्थित पेरिसडाँडाको केन्द्रीय कार्यालयमा गरिनेछ। उद्घाटन कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ।

अभियानका क्रममा पार्टी संगठन विस्तार तथा सुदृढीकरण, सदस्यता नवीकरण, नेता–कार्यकर्ताबीच भेला तथा बैठक र आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारीलाई प्राथमिकता दिइने जनाइएको छ। साथै, जनताका दैनिक समस्या तथा माग संकलन गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने कार्यक्रमसमेत सञ्चालन गरिनेछ।

नेकपाले महँगी, भ्रष्टाचार, बेरोजगारी, कालोबजारी, असुरक्षा तथा जनजीविकासँग जोडिएका विषयमा सरकारको ध्यानाकर्षण गराउने जनाएको छ। अभियानकै क्रममा केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री तथा जिल्लामा प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित निकायसमक्ष मागपत्र तथा ज्ञापनपत्र बुझाउने तयारीसमेत गरिएको छ।

अभियान सकिएपछि नेकपाले संगठनात्मक अधिवेशनको तयारी अघि बढाउने भएको छ। पुस ११ गते देशभरका वडामा एकैदिन वडा अधिवेशन तथा माघ १५ गते पालिकास्तरीय अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ। स्थानीय तहको निर्वाचनपछि जिल्ला, प्रदेश हुँदै राष्ट्रिय महाधिवेशन गर्ने योजना पार्टीले सार्वजनिक गरेको छ।

यसअघि मंसिरमा गर्ने भनिएको नेकपाको महाधिवेशनको मिति भने निश्चित भइसकेको छैन। पार्टीले सांगठनिक समायोजन, सदस्यता नवीकरणलगायत कामलाई अघि बढाउँदै महाधिवेशनको तयारी गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *