सामाजिक सञ्जालको हल्लामा नआत्तिन र आधिकारिक सूचना मात्रै विश्वास गर्न मौसम विभागको आग्रह

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक ६, बिहीबार १९:५५

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गलबारदेखि मुलुकका केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि यसलाई लिएर त्रसित नहुन आग्रह गरेको छ।


मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलिएको ‘साता दिनसम्म वर्षा हुने’ भन्ने हल्लाप्रति ध्यानाकर्षण गराउँदै मौसमी प्रणाली परिवर्तनशील हुने भएकाले आधिकारिक सूचनामा मात्रै विश्वास गर्न आग्रह गरेका हुन्।


उनका अनुसार आगामी मङ्गलबारदेखि केही स्थानमा वर्षाको सम्भावना देखिए पनि कुन क्षेत्रमा कति मात्रामा र कति समयसम्म वर्षा हुन्छ भन्ने कुरा अहिले नै यकिन गर्न सकिने अवस्था छैन।
“आगामी मङ्गलबारदेखि वर्षाको सम्भावना छ। तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ निश्चित छैन,” मौसमविद् महर्जनले भने।


सामाजिक सञ्जालमा सात दिनसम्म लगातार वर्षा हुने भन्दै विभिन्न सूचना फैलिँदा विशेषगरी किसानहरू त्रसित बनेको भन्दै उनले त्यस्ता अपुष्ट सूचनाको पछि नलाग्न आग्रह गरे।
मौसमविद् महर्जनका अनुसार नेपालको सन्दर्भमा तीन दिनसम्मको मौसम पूर्वानुमान तुलनात्मक रूपमा धेरै हदसम्म मिल्ने भए पनि एक सातासम्मको पूर्वानुमानमा परिवर्तन आउन सक्ने सम्भावना बढी हुन्छ।


“अब केही दिनपछि आगामी साता हुने वर्षाका बारेमा सूचना सम्प्रेषण गर्नेछौँ। मौसम तथा वर्षाको विषयमा विभागको आधिकारिक सूचनालाई मात्रै विश्वास गर्नुहुन अनुरोध छ,” उनले भने।


विभागले मौसम प्रणाली निरन्तर परिवर्तन भइरहने भएकाले सामाजिक सञ्जालमा आएका अपुष्ट सूचना र हल्लाका आधारमा निष्कर्षमा नपुग्न सर्वसाधारणलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *