प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति हटाउन एकजुट हुन आग्रह

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक ५, बुधबार ०७:५५

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विजयादशमी २०८३ को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।


विजयादशमी असत्यमाथि सत्यको विजयको उत्सव भएको उल्लेख गर्दै प्रधानमन्त्रीले पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि तथा भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको दिनका रूपमा यस पर्वलाई मनाइने बताउनुभएको छ।


शुभकामना सन्देशमा उहाँले विजयादशमीका अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले पारिवारिक तथा सामाजिक आत्मीयता अझ बलियो बनाउने उल्लेख गर्नुभएको छ। टाढा रहेका मान्यजन तथा आफन्तलाई समेत खोजीखोजी भेटेर आशीर्वाद ग्रहण गर्ने नेपाली संस्कृतिको विशेषता रहेको उहाँको भनाइ छ।


प्रधानमन्त्रीले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरणा दिने बताउनुभएको छ। साथै भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति जस्ता ‘आसुरी प्रवृत्ति’ अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ।


हरेक नागरिकले ‘हाम्रा लागि सरकार छ’ भन्ने अनुभूति गर्न सक्ने अवस्था निर्माण गर्न इमानदार प्रयास, अठोट र सामूहिक मेहनत आवश्यक रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ। परिवर्तनका लागि सोचसँगै व्यवहारमा समेत परिवर्तन आवश्यक रहेको उहाँले बताउनुभएको छ।


विजयादशमीले नेपालको भौगोलिक, सांस्कृतिक तथा भाषिक विविधताबीच सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्ने तथा लामो समयदेखि छुट्टिएका साथीभाइ र आफन्तजनसँग आत्मीयता साट्ने अवसर प्रदान गर्ने प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ।


उहाँले आ–आफ्नो स्थान र क्षमताअनुसार विजयादशमी मनाउँदै सद्भाव, एकता, सम्मान र माया आपसमा साट्न सबैमा आग्रह गर्नुभएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *