
काठमाडौं । माओवादी केन्द्र सहितका प्रतिपक्षी दलहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटगरि मुलुकको अवस्थाका विषयमा चासो व्यक्त गरेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित शक्ति बस्नेत, रास्वपाका सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राप्रपाका नेता बुद्धिमान तामाङ र हेमजंग गुरुङ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे तथा आम जनता पार्टीका नेता तिलक थापामगर सहभागी थिए।
नेताहरूले संविधानको मर्मविपरीत र बहुलवादमा आधारित मर्मविपरीतका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गरेको बताइएको छ।
सो अवसरमा राष्ट्रपति पौडेलले आफू संविधान, राष्ट्र र राष्ट्रिय एकताको प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताउँदै संविधानले आफूलाई दिएको कर्तव्य र सीमाअनुसार अगाडि बढ्ने कुरामा विश्वस्त हुन आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
‘संविधानको मर्म र लोकतन्त्रको मर्मलाई हेरेर संविधानले निर्धारित राष्ट्रपतिको कर्तव्य र सीमालाई हेरेर मैले काम गर्ने कुरामा तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु,’ राष्ट्रपतिलाई उदृत गर्दै पोखरेलले भन्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीहरूबारे राष्ट्रपतिलाई जानकारी दिन प्रतिपक्ष दलहरू शीतलनिवास पुगेका हुन्।