
ल्हेन्देखोलामामा आएको बाढी त्रिशूली नदीमा मिसिएपछि बढेको नदीको बहावले कटान गर्दा ध्यवसत बनाएको धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नं १ सोतीबट्टार फाँट, उक्त फाँटमा रहेको स्थानीय कृष्णप्रसाद खतिवडाको काजिल फर्म सबै बगाएको छ । तस्बिर नुवाकोट पुकार
– शुकदेव दाहाल
गल्छी (धादिङ.) नेपाल–चीन सीमानाका भएर बग्ने रसुवाको ल्हेन्देखोलामा अकस्मात् आएको भीषण बाढीको प्रभाव धादिङ जिल्ल्लामा पनि परेको छ । ल्हेन्देखोलामामा आएको बाढी त्रिशूली नदीमा मिसिएपछि बढेको नदीको बहावले धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नं १ सोतीबट्टार फाँटलाई सखाप पारेको छ ।
त्रिशूली नदीको बाढीले सोतीफाँटको ५० रोपनी भन्दा बढि खेल बगाएको छ । स्थानीय कृष्ण प्रसाद खतिवडाले सञ्चालन गर्नुभएको खतिवडा एकिकृत कृषि तथा पशुपंक्षी फर्म(कालिज)को भौतिक संरचना सबै बगाएको छ । झण्डै सवा करोड लगानीमा सञ्चालित उक्त फर्मका सबै संरचना ध्वस्त बनाएको फर्मका प्रोपाइटर कृष्णप्रसाद खतिवडाले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, मैले १५ रोपनी खेतमा झण्डै सवा करोड लगानीमा खोलेको फर्मका सबै संरचना बगाएको छ ।

यस्तै सोही स्थानमा रहेको नमराज खतिवडा,विश्वराज खतिवडा,तोपकुमारी खतिवडा, विष्णुप्रसाद खतिवडा र सितादेवी खतिवडाको गरि ५० रोपनी भन्दा बढि खेत र त्यहाँ रहेको मकै बाली समेत बगााएको खतिवडाले जानकारी दिनुभयो । अहिले पनि नदीले खेत कटान गरिरहेको छ,हामीहरुको त धेरै ठुलो क्षति भयो, भन्दैपर्दा हामी सुकुम्बारी हुने अवस्था सिर्जना भयो, खतिवडाले भन्नुभयो । गल्छी बजारबाट दुई किलोमिटर पर रहेको उक्त जग्गाको सरदर मुल्य (प्रतिरोपनी) ३० देखि ३५ लाखसम्म पर्ने स्थानीयहरु बताउँछन् ।
यसरी हेर्दा सोही क्षेत्रमा मात्रै १५ करोड बराबरको क्षति हुन पुगेको छ । अब हामीले हाम्रो जमिन फर्काउन सक्ने अवस्था छैन । नदी पूरानो ठाउँबाट सरेर खेत भएको ठाउँबाट बग्न थालेको छ, जापान, अमेरिका जस्ता मुलकमा भए त्यो सम्भव हुन्थ्यो, हाम्रो म सम्भावना देखिदैन खतिवडाले भन्नुभयो । उहाँले घटनाबारे गल्छी गाउँपालिका, बैरनी प्रहरी चौकीलाई जानकारीसहित निदेवन दिएको भएपनि आफूहरुले यसको क्षतिपुर्ति पाउने आशा नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, हामीले हाम्रो जमिन र कम्पनीको क्षतिपुर्ति पाउने सम्भावना छैन र राज्यले त्यो दिनसक्छ भन्ने हामीलाई लागेको पनि छैन, केवल शान्त्वनासम्म पाउने कुरा मात्रै हो, तै पनि हामी राज्यलाई हाम्रो क्षतिबारे भने जानकारी गराउँछौं ।
गल्छी गाउँपालिकाका अध्यक्ष केदार खतिवडाले अहिले पनि नदीले जमिन कटार गरिरहेको र हेर्दा अत्यन्त पीडा महशुस भएको भन्दै अहिले नै केही गर्न नसक्ने अवस्था रहेको बताउनुभयो ।
उहाँले आफूले हेरेर आएको र घटनाबारे पालिकाका मुजुल्का उठाएर जिल्ला प्रशासन तथा जिल्लास्तरमा रहेको दैवी प्रकोप उद्धार तथा राहत समितिमा बुझाउने र त्यहाँबाट के गर्न सकिन्छ भनेर छलफल गरिरहेको पनि जानकारी दिनुभयो । उहाँले अहिले केही गर्न नसकेपनि हिउँमा नदीलाई आफ्नो बाटोमा नै फर्कउनका लागि संघीय र प्रदेश सरकारसँग बजेटको व्यवस्था गराउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
मंगलबार बिहान ३ बजेको समयमा रसुवाको ल्हेन्देखोलामा एक्कासी आएको बाढी त्रिशूली नदीमा मिसदा रसुवादेखि नुवाकोटसम्म ठुलो क्षति पुर्याएको छ । उक्त बाढीमा परी २० जना भन्दा बढिले ज्यान गुमाएका छन् । रसुवागढी भन्सार कार्यालय, रसुवागढी जलविद्युत कम्पनीको ड्याम समेत बाढीले क्षति पुर्याएको छ । रसुवादेखि ३५ किलोमिटरमाथि रहेको हिमनदीका बिचमा बनेको हिमताल फुटेर बाढीको सिर्जना भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यालयले जनाएको छ ।