
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले कात्तिक १० गते राजधानीमा खबरदारीसभाको आयोजना गर्ने भएको छ । माओवादी केन्द्रको सचिवालयको बैठकले वर्तमान दुई दलीय सरकार अपारदर्शी, अस्वाभाविक र रहस्यमय तरिकाले संवैधानिक मर्म,भावना र नैतिकता विपरीत अघि बढेको भन्दै खबरदारीसभाको आयोजना गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गरि सार्वजनिक गर्नुभएको छ ।
सापकोटाले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, सरकारको सय दिन भ्रष्टचारीको संरक्षण र सुशासनमाथि निरन्तर प्रहार गरेर बितेको छ । त्यसैले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवाल झनझन गम्भीर र संवेदनशील भएका छन् । जनता र देशको अधिकतम हितमा केन्द्रित हुनुपर्ने समयमा बेलागाम बनेको सरकारलाई जनउत्तरदायी बनाउन प्रतिपक्षको हैसियतले खबरदारी गर्न कार्तिक १० गते खबरदारीसभा गर्ने निर्णय गरिएको छ ।
विज्ञप्तिमा सापकोटाले भन्नुभएको छ , हाम्रा पार्टी अध्यक्ष क प्रचण्डले संसदको रोस्टमबाट सुशासनको डरले बिचौलियाहरुले बनाएको सरकार भन्नुभएको कुरा आज सय दिनमै सरकारको जनविरोधी र सुशासन विरोधी क्रियाकलापले पुष्टि गरेको छ । सरकारका तर्फबाट भ्रष्टाचारीहरू जोगाउन तथा बिचौलियाहरूको पक्षमा एकपछि अर्को निर्णय गर्दै जाने घटनाक्रमको निरन्तरताले सरकारको उद्धेश्य जनतालाई प्रभावकारी सेवा प्रदान गर्ने नभई निहित स्वार्थ समूहको हीत रक्षा गर्ने रहेको कुरा प्रष्ट भएको छ । माओवादीले सरकार गठन भए लगत्तै भुटानी शरणार्थी काण्ड र सुनकाण्डको छानबिन गरिरहेका प्रहरी अधिकारीहरूलाई नियतवस सरुवा गर्ने, त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम प्रधानमन्त्रीको ठाडो निर्देशनमा प्रस्तुत गर्नबाट रोक्ने, २० अर्ब राजस्व तिर्न बाँकी रहेको निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनीको नवीकरण गर्ने जस्ता भ्रष्टाचारजन्य काम गरेको पनि आरोप लगाएको छ ।
माओवादी केन्द्रले नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुड.बाट लिएको जग्गाका विषयमा आफ्नो आफ्नो धारणा सार्वजनिक गर्दै भनेको छ, सय दिनमा यो सिलसिला कहाँसम्म पुग्यो भने विशेष अदालतबाट ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर भएको र प्रधानमन्त्री मातहत रहेको सम्पत्ति शुद्धिकरण विभागले छानबिन गरिरहेको व्यापारीबाट प्रधानमन्त्रीकै दलको भवन बनाउन अर्बौंको जग्गा सम्पूर्ण मूल्यमान्यता लत्याएर कानुनको उपहास गर्दै चन्दा लिइएको छ । यस सम्बन्धमा २०८१ कार्तिक ५ गते ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले विज्ञप्ति प्रकाशित गरी गम्भीर ध्यानाकर्षण भएको छ भन्दै प्रतिवादीसँगको यस्तो लेनदेनका कारण स्वार्थको द्वन्द हुन गई सुशासनमा गम्भीर असर पर्ने र भ्रष्टाचारको पक्षपोषण हुने कुरा उल्लेख गरेको छ ।
यस्तै असोज ११ र १२ गतको अतिभारी वर्षाका कारणले देशमा ठूलो धनजनको क्षति भएको र जनता विपत्तिको भुमरीमा पर्दा समेत सरकार कतै नदेखिएको भन्दै असन्तुष्टि समेत जनाएको छ । उसले मौसम पूर्वानुमान महाशाखा र अन्य सम्बद्ध निकाय तथा विज्ञहरूले पूर्व सूचना दिँदा समेत सरकारले गम्भीरतापूर्वक नभएको र प्रधानमन्त्रीले अमेरिकाबाट फर्केर विमानस्थलमा अत्यन्तै असंवेदनशील र गैरजिम्मेवार अभिव्यक्ति दिँदै जनताको चहर्याइरहेको घाउमा नुनचुक छर्कने काम गरेको आरोप लगाएको छ । सरकारको यस्ता गलत कामलाई जिम्मेवार प्रतिपक्षको हैसियतले सरकारलाई खबरदारी गर्नुपर्ने आवश्यकता महसुस गर्दै खबरदारी सभाको आयोजना गरेको भन्दै खबरदारीसभामा उपस्थित हुन अपिल गरेको छ ।
उता माओवादीले प्रतिपक्ष दलको रुपमा सहकार्य गर्दै आएको रास्वपाका अध्यक्ष रवि लामिछाने सहकारीको रकम अपचलन गरेको भन्दै पक्राउ परेको विषयमा आजको विज्ञप्तिमा पनि कुनै प्रतिक्रिया जनाएको छैन । उसले न त आन्दोलनको पक्षमा बोलेको छ न त विपक्षमा नै बोलेको छ । माओवादी मौन बसेको भन्दै रास्वपाका नेता कार्यकर्ताले विरोध गर्दा पनि माओवादीले आज पनि कुनै प्रतिक्रिया दिएन । माओवादीको यो मौनतासँगै रास्वपा क्रमशः एक्लिदै गएको अनुमान गर्न सकिन्छ ।