
फाइल तस्बिर
काठमाडौं । राजधानी जोड्ने अर्को बैकल्पिक मार्गको रुपमा रहेको सीतापाइला–धार्के सडक भोलिदेखि १५ दिनका लागि बन्द हुने भएको छ ।
काठमाडौंको सीतापाइलाबाट धादिङको धार्के जोड्ने सडकको स्तरोन्नति गर्नका लागि भोलि कात्तिक २३ गतेदेखि १५ दिनका लागि बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यालय धादिङले जारी गरेको सूचनाअनुसार यो सडक खण्डमा कालोपत्र गर्ने काम भइरहेकाले एम्बुलेन्स, सुरक्षा निकायका गाडी र हलुका चार पाङ्ग्रे गाडीबाहेकका सबै प्रकारका गाडीलाई सडक खण्डमा पूर्णरूपमा रोक लगाइने छ ।
प्रशासनले सडकको स्तरोन्नति अवधिभरि गाडी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । वैकल्पिक मार्गका रूपमा गल्छी–विदुर–छहरे–टोखा वा धार्के नौबिसे–नागढुङ्गा सडक प्रयोग गर्न सकिने साहयक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।
पछिल्लो समय नौबिसेदेखिको नागढुंगा सडकको जाम छल्नका लागि साना खालका सवारीसधानले उक्त सडक प्रयोग गर्दै आएका छन् ।
