
जिल्ला प्रशासन कार्यालय नुवाकोट
विदुर । नुवाकोट जिल्लामा सञ्चालित सवारीसाधनलाई सरकारले तोकेको भाडादर मात्रै लिनका लागि व्यवसायीहरुलाई निर्देशन दिइएको छ । नुवाकोट जिल्लामा सञ्चालित सार्वजनिक सवारी साधनले तोकेको भन्दा बढि भाडा लिने गरेको गुनसो बढेपछि प्रमुख जिल्ला अधिकारी नारायण रिसालको अध्यक्षतामा बसेको बैठकले श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय बागमती प्रदेशद्धारा २०७९ साउन ५ गते राजपत्रमा प्रकाशित भाडादरबाट नबढ्ने गरी यात्रुसँग भाडा लिनका लागि निर्देशन दिने निर्णय गरिएको छ ।
यस्तै बैठकले आफ्ना सवारीसाधनमा भाडादर अनिवार्य टाँस गर्नुपर्ने, सवारी साधनमा तोकिएको अन्य सुविधा उपलब्ध गराउनुपर्ने निर्णय गरिएको छ । यस्तै विद्यार्थी, जेष्ठ नागरिकलाई दिने सुविधा व्यवसायीले उपलब्ध गराउने, चाडबाडका लागि प्रयाप्त सवारीसाधनको व्यवस्था गर्ने, लगायतका निर्णय गरिएको छ ।
यस्तै कच्ची , ग्राबेल सडकको भाडादर निर्धारण गर्नका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उपसमिति गठन गर्ने निर्णय पनि गरिएको छ । उपसमिति सदस्यहरुमा जिल्ला टफिक कार्यालयका प्रतिनिधि, यातायात कम्पनीका प्रतिनिधि,सम्बन्धित सडकको प्रतिनिधि,सम्बन्धित पालिकाको अधिकृत स्तरको प्रतिनिधि , नागरिक समाजका र उपभोक्ता हित संरक्षण समितिका प्रतिनिधि, यातायात व्यवसायी कम्पनीका प्रतिनिधि सदस्य रहने गरि उपसमिति गठन गरिएको छ ।
यसको अनुमगनका लागि पनि समिति गठन गरिएको छ । बैठकमा जिल्ला समनवय समितिका प्रमुख रजिन्द्र बिक्रम ठकुरी,उपप्रमुख, दलबहादुर तामाड. विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठसहित जिल्लाका सरकारी निकायका प्रतिनिधिहरु,सार्वजनकि सवारी साधन कम्पनीका प्रतिनिधि एवं पत्रकारहरुको पनि सहभागिता रहेको थियो ।