नुवाकोट, जेठ २६ — नेपाली सेनाको शीघ्र प्रभावी आयोजना अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ मा विदुर नगरपालिका–१० स्थित शुभघाटदेखि गेर्खुटारसम्मको एकीकरण पदमार्ग स्तरोन्नति तथा ३०० मिटर गोरेटो बाटोमा सिँढी निर्माण कार्य सम्पन्न भएको छ।
विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा श्री नं. ६ बाहिनी अड्डाका सहायक रथी (बाहिनीपति) उज्जवलविक्रम राणा, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, विभिन्न सुरक्षा निकायका प्रमुखहरू, वडा नं. १० का अध्यक्ष गणेशकुमार नेपाल तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा नगरप्रमुख श्रेष्ठले विदुर नगरपालिका र नेपाली सेनाको सहकार्यमा निर्माण थालिएको ऐतिहासिक एकीकरण पदमार्ग तथा सिँढी निर्माण कार्यका बाँकी खण्डहरू समेत आगामी आर्थिक वर्षहरूमा निरन्तरता दिन नेपाली सेनासमक्ष आग्रह गरेका थिए। साथै अध्ययन सम्पन्न भएका अन्य योजनाहरूलाई पनि क्रमशः कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औँल्याए।
नेपाल एकीकरण अभियानका क्रममा पृथ्वीनारायण शाह तथा उहाँको सैनिक फौजले प्रयोग गरेको गोर्खा–धादिङ–नुवाकोट हुँदै काठमाडौंसम्मको मार्गलाई ‘एकीकरण पदमार्ग’का रूपमा पहिचान, संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यस क्षेत्रमा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ। नुवाकोट क्षेत्रमा मात्रै यो ऐतिहासिक पदमार्ग करिब ४४ किलोमिटर फैलिएको छ, जसमा भर्याङभुरुङ, सामरी, डेउडी, शुभघाट, नुवाकोट दरबार, महमण्डल डाँडा, चतुराले हुँदै ककनी रानीपौवासम्मका क्षेत्र समेटिएका छन्।
एकीकरण पदमार्गमा निर्माण गरिएको सिँढी तथा स्तरोन्नति कार्यले स्थानीय बासिन्दाको आवागमनलाई सहज बनाउनुका साथै पर्यटन प्रवर्द्धन, ऐतिहासिक सम्पदाको संरक्षण तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्