काठमाडौँ — प्रतिनिधिसभामा रहेका प्रमुख विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको पछिल्लो अभिव्यक्तिलाई राष्ट्रिय हितविपरीत भएको भन्दै त्यसलाई सच्याउन माग गरेका छन्। उनीहरूले प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता लिएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने अडान दोहोर्याएका छन्।
मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूबीच भएको संयुक्त बैठकले संसदमा जारी अवरोधको मुख्य कारण प्रधानमन्त्रीको उक्त अभिव्यक्ति रहेको निष्कर्ष निकालेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका मुख्य सचेतक ऐनबहादुर महरले संसदको रोस्ट्रमबाट नेपालले भारतको केही भूमि अतिक्रमण गरेको आशयको अभिव्यक्ति आउनु अत्यन्तै गम्भीर विषय भएको बताए। विपक्षी दलहरूको निष्कर्षअनुसार उक्त भनाइले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्याएको छ।
विपक्षी दलहरूले प्रधानमन्त्रीलाई विवादित भनाइ तत्काल फिर्ता लिन, देशवासीसँग क्षमायाचना गर्न तथा संसदको आधिकारिक अभिलेखबाट समेत हटाउन माग गरेका छन्। उनीहरूले यो विषय कुनै एक दलको नभई राष्ट्रिय सरोकारको मुद्दा भएको धारणा राखेका छन्।
बैठकमा संसदको अवरोधबारे पनि विस्तृत छलफल भएको थियो। विपक्षी दलहरूले संसद सञ्चालन आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै जनतासँग सम्बन्धित विषय, बजेट र कानुन निर्माण प्रक्रियालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। तर, सदनको गतिरोध अन्त्य गर्न सरकारबाट आवश्यक सक्रियता नदेखिएको उनीहरूको आरोप छ।
यद्यपि, विपक्षी दलहरू संवाद र सहमतिका लागि खुला रहेको बताएका छन्। सभामुखको पहलमा भएका सर्वदलीय छलफल तथा सत्ता पक्षबाट आएका अनौपचारिक प्रस्तावहरूबारे सकारात्मक रूपमा विचार गर्न सकिने उनीहरूको भनाइ छ।
विपक्षी नेताहरूले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउने र सरकारले जिम्मेवार भूमिका निर्वाह गर्ने हो भने संसदमा देखिएको अवरोध हटाउन सहज हुने संकेत समेत दिएका छन्।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्