नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा छात्रवृत्ती वितरण तथा सातकोठे कक्षाकोठा भवनको सिलान्यास सम्पन्न

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २७, बुधबार १८:५७

विदुर, नुवाकोट । रसुवा, नुवाकोट र धादिङ कै सबैभन्दा पुरानो ऐतिहासिक, अब्बल र गौरवमय उच्च शैक्षिक धरोहर नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा एकैदिन दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न भएका छन् । वि.सं. २०४२ सालमा स्थापित यस क्याम्पसको नयाँ शैक्षिक भवनको शिलान्यास तथा छात्रवृत्ति वितरण कार्यक्रम आज एक विशेष समारोहका बीच सम्पन्न भएको हो । क्याम्पस स्थापना कालमा अतुलनीय योगदान पु¥याउनुहुने स्वर्गीय संस्थापक तथा पूर्व अध्यक्ष विष्णु बहादुर आचार्यको स्मृतिमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा, लगनशीलता र पारिवारिक अवस्थालाई सम्मान गर्दै छात्रवृत्ति वितरण गरिएको छ भने क्याम्पसको भौतिक पूर्वाधार विकासका लागि नयाँ भवनको शिलान्यास गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं विदुर नगरपालिकाका नगर प्रमुखले दुवै कार्यले शिक्षाको गुणस्तर सुधार र समृद्ध समाज निर्माणको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुखले भन्नुभयोः “नुवाकोट आदर्श बहुमुखी क्याम्पसले क्याम्पसले हजारौँ दक्ष जनशक्ति उत्पादन गरेर देशका विभिन्न उच्च ओहोदामा पु¥याएको छ । आज हामी जुन स्थानमा छौँ, यो उपलब्धी हाम्रा अग्रजहरूको पसिना, त्याग, लगनशीलता र दूरदर्शिताले मात्र सम्भव भएको हो ।”


भौतिक पूर्वाधार बिना प्रविधिमैत्री र आधुनिक शिक्षा सम्भव नभएको उल्लेख गर्दै नगर प्रमुखले नयाँ भवन निर्माणसँगै क्याम्पसको शैक्षिक वातावरण थप उत्कृष्ट बन्ने र यसले अनुसन्धानमूलक शिक्षामा जोड दिने विश्वास व्यक्त गर्नुभयो । आजको युग प्रतिस्पर्धात्मक, वैज्ञानिक र प्रविधिको युग भएको चर्चा गर्दै नगर प्रमुखले बदलिँदो समयअनुसारका बिषयहरु सूचना प्रविधि तथा प्राविधिक बिषयहरुलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । आधुनिक प्रविधि, अनुसन्धान र नवीनतम ज्ञानमा अब्बल बन्न प्राध्यापकहरूले आफूलाई निरन्तर ’अपडेट’ गरी खरो रूपमा उतार्नु आजको आवश्यकता हो। नगर प्रमुखले बिदुर नगरपालिकाको शैक्षिक सुधारका अनुभवहरु प्रस्तुत गर्नुहुदै लगनशील भएर अघि बढ्दा सफलता प्राप्त हुने विश्वास ब्यक्त गर्नु भयो । सो अवसरमा नगर प्रमुखले बिदुरनगरपालिकामा गरिएको महत्वपूर्ण योजना तथा कार्यक्रमहरुको समेत चर्चा गर्नु भयो ।


क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठ ज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई अध्यक्ष श्रेष्ठले सम्बोधन गर्नु हुदै पूर्व अध्यक्ष एवं संस्थापक बिष्णु बहादुर आचार्यको समाजमा तथा क्याम्पसको योगदानको स्मरण गर्नुहुदै उहाँको मुक्तकण्ठले प्रशांसा गर्नुभयो र योगदान गर्ने ब्यक्तिलाई जहिले पनि क्याम्पसले सम्झिरहने बिचार ब्यक्त गर्नुभयो । क्याम्पसका संस्थापकहरु शिव प्रसाद गजुरेल लगायत संस्थापकहरुले क्याम्पसलाई पुर्याएको योगदानको चर्चा गर्नु भयो ।


उहाँले क्याम्पसको भौतिक तथा शैक्षिक योगदान पुर्याउनु हुने बिदुर नगरपालिका, विश्वबिद्यालय अनुदान आयोग तथा सम्पूर्ण दाताहरुलाई धन्यबाद दिदै तथा आगामी दिनमा थप सहयोगको अपेक्षा गर्नु भयो । उहाँले “शिक्षा उज्यालो भविष्यको आधारशिला हो र यो व्यक्तिको ज्ञान, सीप, तथा व्यक्तित्व विकासको मुख्य माध्यम हो,“ उहाँले थप्नुभयो, “शिक्षाले आलोचनात्मक चिन्तन, समस्या समाधान गर्ने सीप र निर्णय क्षमतामा वृद्धि गर्छ । राष्ट्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको स्तर त्यहाँको शिक्षाको स्तरबाटै पहिचान हुन्छ ।“ आजको युग प्रतिस्पर्धात्मक, वैज्ञानिक र प्रविधिको युग भएको चर्चा गर्दै अध्यक्ष श्रेष्ठले बदलिँदो समयअनुसार चल्न सम्पूर्ण प्राध्यापकहरुलाई चल्न आग्रह गर्नुभयो आधुनिक प्रविधि, अनुसन्धान र नवीनतम ज्ञानमा अब्बल बन्न प्राध्यापकहरूले आफूलाई निरन्तर ’अपडेट’ गरी खरो रूपमा उत्रिन सुझाव दिनु भयो । उहाँले नुवाकोट आर्दश क्याम्पसबाट प्रकाशित हुने जर्नलको महत्वबारे प्रकाश पार्नुहुदै आफ्नो पेशागत दक्षता अभिवृद्धि गर्न तथा समाजमा योगदान दिनका लागि अनुसन्धानमा लाग्नका लागि सम्पूर्ण प्राध्यापक वर्गलाई निर्देशन दिनु भयो । उहाँले बिषय थप, नयाँ कार्यक्रम थप गर्न तथा अनुदान थप बृद्धिका लागि समेत क्यूएए प्रमाणिकरण आवश्यक रहेकाले नुवाकोट आदर्श बहुमुखी क्याम्पस गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणिकरणको अन्तिम चरणमा रहेकोले सोका लागि आवश्यक कार्यहरु सम्पन्न गरी निकट भविब्यमा नै सम्पन्न गर्ने गरी अघि बढ्ने बिश्वास ब्यक्त गर्नु भयो ।


सो कार्यक्रममा क्याम्पस प्रमुख गोविन्द लिम्बु, संचालक समितिका सदस्यहरु ध्रुुव ढकाल, रामहरी घिमिरे, प्रकाशचन्द्र ढुंगाना, बिन्दा अर्याल, छत्रराज डंगोल, पूर्व क्याम्पस नारायणमान डंगोल लगायतले मन्तब्य ब्यक्त गर्नु भयो । सो कार्यक्रममा २७ जना बिद्यार्थीहरुलाई रु.२,१३,७००। अक्षेरुपी दुईलाख तेह् हजार सात रुपैयाँ छात्रवृत्ति वितरण गरिएको हो ।


नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा मानबिकि, शिक्षाशास्त्र र ब्यवस्थापन संकाय तथा ११, १२ कक्षा, स्नातक, स्नाकोत्तर तहमा गरी करीब १५०० बिद्यार्थीहरु अध्ययनरत छन् । करीव ७००० बिद्यार्थीहरुले ग्राजुएट हासिल गरी देश तथा बिदेशको बिभिन्न क्षेत्रमा उच्च ओहदामा आशिन हुन पुगेको छ । करीब २७ जना प्राध्यापक कर्मचारी कार्यरत छन् । कक्षा ११ मा यसै शैक्षिक सत्रबाट होटल म्यानेजमेन्ट बिषय सञ्चालन हुदैछ भने स्नातक तहमा बि एड आई सि.टि, बिबिए लगायतका नयाँ बिषय थप गर्ने प्रक्रियमा रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *