बेलकोटगढी, नुवाकोट । नेपाली कांग्रेस बेलकोटगढीका युवा नेताहरूसँग बुधबार भएको गम्भीर तथा आत्मीय छलफलपछि सामाजिक तथा राजनीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल पूर्ण प्रसाद गजुरेल पुनः नेपाली कांग्रेसमा सक्रिय रूपमा रहने प्रतिबद्धतासहित अगाडि बढ्ने निर्णयमा पुग्नुभएको छ।
कांग्रेसका युवा नेता शुकदेव दाहालको सक्रियतामा राजधानीमा आयोजित छलफलमा कांग्रेस बेलकाेटगढीका प्रभावशाली नेताहरकाे सहभागिता रहेको थियो। छलफलमा कांग्रेस बागमती प्रदेश सदस्य बद्रीप्रसाद मुडबरी, जिल्ला सहसचिव यादव नेपाल, महाधिवेशन प्रतिनिधि जयराम दाहाल, कांग्रेस नेता एस.के. नेपाल, क्षेत्रीय सचिव नमराज पाण्डे, कांग्रेस नेता श्याम ढुंगाना, भुविन्द्र बानियाँ रामेश्वर पुडासैनीलगायत एक दर्जनभन्दा बढी युवा तथा अग्रज नेताहरू सहभागी भएका थिए।
छलफलका क्रममा कांग्रेसभित्र देखिएका आरोप–प्रत्यारोप, व्यक्तिगत सम्मानमा आँच पुग्ने गतिविधि तथा संगठनभित्रको समन्वयका विषयमा खुला समीक्षा गरिएको थियो। सहभागीहरूले पार्टीभित्र कसैको व्यक्तिगत सम्मानमा चोट पुग्ने कार्य हुन नहुने र आपसी सम्मान, विश्वास तथा सहकार्यलाई थप मजबुत बनाउँदै अघि बढ्नुपर्ने निष्कर्ष निकालेका थिए।
छलफलमा सहभागी नेताहरूले गजुरेलको विगतदेखिको योगदान र संगठन निर्माणमा उहाँले खेलेको महत्त्वपूर्ण भूमिकाको समेत उच्च मूल्यांकन गरेका थिए। समीक्षा र संवादपछि पार्टीभित्र विश्वासको वातावरण अझ बलियो बनेको निष्कर्ष निकाल्दै सबै पक्ष एकताबद्ध भएर अघि बढ्ने सहमति भएको सहभागी एक नेताले नुवाकोट पुकारलाइ बताए ।
कांग्रेस नेता एस.के. नेपालका अनुसार आपसी विश्वास र सहकार्यलाई केन्द्रमा राखेर संगठनलाई थप सशक्त बनाउने साझा प्रतिबद्धतासहित आगामी दिनमा संयुक्त रूपमा अघि बढ्ने निर्णय गरिएको हो।
केही दिनअघि कांग्रेसभित्रको परिस्थितिप्रति असन्तुष्टि जनाउँदै गजुरेलले स्वतन्त्र रूपमा रहने तथा क्रियाशील सदस्यता नवीकरण नगर्ने संकेत गर्नुभएको थियो। तर पार्टीका अग्रज तथा युवा नेताहरूको निरन्तर संवाद, पहल र सकारात्मक वातावरण निर्माणका कारण उहाँ पुनः कांग्रेसमै सक्रिय रहँदै संगठन सुदृढीकरणमा योगदान गर्ने प्रतिबद्धतासहित अघि बढ्न तयार हुनुभएको हो।
छलफलपछि नेताहरूले संयुक्त रूपमा जारी गरेको सन्देशमा भनिएको छ, “राजनीतिमा विचार, भावना र सम्बन्धहरू कहिलेकाहीँ उतारचढावबाट गुज्रन्छन्। तर आत्मीय संवाद, तितामिठा अनुभवहरूको समीक्षा र आपसी विश्वासको पुनःस्थापनाले सबै चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सक्छ।
व्यक्तिगत सम्बन्ध, आपसी सम्मान र साझा लक्ष्य नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। यही एकता, विश्वास र सहकार्यले संगठनलाई अझ मजबुत बनाउँदै जनताको अपेक्षा पूरा गर्ने मार्गमा अघि बढ्नेछ। साथ, सहकार्य र समर्पणको यात्रामा हामी सबै एक छौँ।”
यस निर्णयसँगै बेलकोटगढी कांग्रेसमा एकता, सहकार्य र संगठनात्मक सुदृढीकरणको सन्देश प्रवाह भएको स्थानीय नेताहरूले बताएका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्